नुवाकोट, १ माघ । माघे संक्रान्तिमा नुवाकोटको विभिन्न स्थानमा ४१ हल गोरु जुधाइने भएको छ। गोरु जुधाई मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
नुवाकोटको तारुकाको चन्दनीमा १७, बेत्रावतीमा नौ तथा पञ्चकन्यामा १५ हल गोरु जुधाउन दर्ता गरिएका छन् । तीनै स्थानमा विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
तारुकाको चन्दनीमा जुधाइने गोरु दुई हजार रुपैयाँ पछि फिर्ता हुने गरी शुल्क लिइएको छ। गोरुको क, ख र ग वर्ग अनुसार पुरस्कार दिइने आयोजकले जनाएको छ। गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाटसमेत सर्वसाधारण आउने गरेका छन्।
तारुकाको गोरु जुधाइलाई नेपालकै उद्गम थलोका रूपमा लिइन्छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाकाको भनाइमा गोरु जुधाइलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले जानकारी दिए । गोरु जुधाइलाई अहिले धेरै स्थानमा अनुशरण गरिएको र आधुनिकता दिए पनि तारुकाको गोरु जुधाइमा मौलिकपन कायम राखेर परम्पराको निरन्तरता र माघे सङ्क्रान्ति पर्वको महत्वको गरिमालाई कायम राखेर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ ।
बेत्रावतीमा नेपाल–भोट सन्धिमा प्राप्त उपलब्धिमा सुरु
बेत्रावतीको गोरु जुधाइको इतिहास भने फरक रहेको यहाँ गोरु जुधाउँदै आएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डङ्गोलले बताए । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगङ्गा (फलाखु) नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा गोरु जुधाइ सुरु भएको उनको भनाइ छ ।
‘नेपाल–भोट युद्धमा नेपालले के पायो भनेर प्रश्न पनि उठ्छ । तर यहीँ (बेत्रावती)मा भएको सन्धिमा नेपाल–तिब्ब्त मैत्रीपूर्ण सम्बन्ध रहने, उपहार साटासाट गर्ने, नेपालीलाई बाह्य शक्तिले आक्रमण गर्दा चीनले सघाउने, नेपालले लुटेको सम्पत्ति फिर्ता दिने, दुई पक्षबीचको विवादमा चिनियाँ आवासीय मन्त्रीसमक्ष पेस गर्नेलगायत सहमति भएको पाइन्छ’, अध्यक्ष डङ्गोलले भने, ‘नेपाल आक्रमण गर्न यही (बेत्रावती)सम्म आएको चिनियाँ सैनिक फौज फर्केर गएपछि नेपालको सीमा रसुवागढीसम्म कायम भयो । यसलाई यहाँ नेपालको जितको उत्सवमा गोरु जुधाएर विजयीको गाथा गाइएको हो ।’ नुवाकोट रसुवावासीको संयुक्त पहलमा बेत्रावतीमा विसं २०६७ देखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरूपमा गोरु जुधाउन थालिएको क्लबका पूर्वअध्यक्ष सुरज लवटले जानकारी दिए ।
यद्यपी गोरु जुधाई सम्बन्धी तारुका र बेत्रावतीको एतिहासिक कथनको प्रमाण भने आधिकारीक रुपमा कतै पाईदैन ।
Discussion about this post