तीर्थयात्रीको उपचारका लागि डाक्टरको समूह गोसाइँकुण्डमा

0
SHARES
0
VIEWS

रसुवाको उत्तरी क्षेत्र अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्ड पुगेको छ । 

बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा निशान्त जोशीको संयोजकत्वमा माउण्टेन मेडिसिन सोसाइटीका सातजना डाक्टर गोसाइँकुण्ड पुगेको जानकारी दिनुभयो । 

डा जोशीले हिमालय उद्दार सङ्घको सोलुखुम्बुस्थित फेरिचे स्वास्थ्य चौकीमा काम गरिसक्नुभएको छ । उक्त डाक्टर समूहले १० दिन उक्त क्षेत्रमा सेवा गर्नेछ । “उक्त टोलीले गोसाइकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य चेकजाँच गर्नेछ”, प्रमुख कार्यकारी अधिकृत बस्यालले भन्नुभयो ।

सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्यसेवा प्रदान गर्ने उहाँको भनाइ छ । 

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यको पहलमा हालै मोबाइल टावरसमेत पुर्‍याइएको छ । यसअघि गोसाइँकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्कसमेत नभइरहेको अवस्थामा सांसद आचार्यले ढुवानीको व्यवस्था गरी नेपाल टेलिकमको भ्वाइस तथा ‘टु जी’ सञ्चालनमा आएको हो ।

एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक  मेला लाग्ने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित