काठमाडौं । आईतवार नयाँ सरकार गठन हुँदैछ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र एमालेबाट नै अर्थमन्त्री बन्ने सहमती भईसकेकोले यसले शेयर बजारमा कस्तो प्रभाव पर्ला भनेर लगानीकर्ता विचमा चासो बढेको छ । यसअघि, एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा सँगै ‘सर्किट ब्रेक’ भएकोले यो साता शेयर बजार बढ्ने आँकलन गर्न सकिन्छ । यद्यपी नीतिगत रुपमा कुनै सुधार नभई नेतृत्वमा आएको परिवर्तनले शेयर वजार बढ्ने सुनिश्चित नै गर्छ भन्ने छैन । गतसाता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४ दशमलव शून्य १ प्रतिशत बढेको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ११९ दशमलव ७० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार २०४ दशमलव ६१ विन्दुमा पुगेर बन्द भएको हो । अंकका हिसाबमा गत साताभन्दा यो साता नेप्से परिसूचक ८४ दशमलव ९१ अंक माथी उक्लिएको हो । यो साता पाँच कारोबार दिनमा बजार एक दिन मात्र घटेको छ । पहिलो कारोबार दिन २१ दशमलव २७ अंक बढेको बजार दोस्रो दिन ४ दशमलव ६२ अंकले घटेको हो । यस्तै, तेस्रो दिन १५ दशमलव ७९ अंक, चौथो दिन २३ दशमलव २५ अंक र पाँचौ दिन २९ दशमलव २१ अंकले बजार बढेको हो ।
चालू आर्थिक वर्ष सकिन लाग्दा धितोपत्र बजारप्रति लगानीकर्ताको आकर्षण बढ्न लागेको देखिन्छ । सरकार परिवर्तनको हुने अवस्थामा आगामी दिनमा बजारको विकासका लागि सकारात्मक गतिमा काम गर्ने अर्थमन्त्री आउनेमा लगानीकर्ता विश्वस्त देखिन्छन् । यो साता नेप्से परिसूचकसँगै बजारका सबै सूचकहरू बढेका छन् । सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा यो साता ४ दशमलव ५३ प्रतिशत बढेर ३९१ दशमलव ६६ विन्दुमा प्ुगेको छ ।यो साता पाँच कारोबार दिनमा २८ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको ७ करोड १६ लाख ८५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता पाँच कारोबार दिनमा २२ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको ६ करोड ७२ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताभन्दा यो साता कारोबार रकम २७ प्रतिशत बढी र कारोबार कित्ता साढे ६ प्रतिशत बढी भएको हो । औसतमा यो साता ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको १ करोड ४३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता औसतमा ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको १ करोड ३४ लाख ५८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।बजार सकारात्मक गतिमा अघि बढेसँगै धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३४ खर्ब ९६ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कायम भएको छ । गत साताको तुलनामा यो साता कुल बजार पूँजीकरण १ खर्ब ३४ अर्ब ६८ करोड ६२ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । गत साताको अन्तिम कारोबार दिन धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरण ३३ खर्ब ६२ अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो ।
वित्त र व्यापारिक समूहको परिसूचक घट्यो
गत साता सर्वाधिक बढेको वित्त समूहको परिसूचक यो साता घटेको छ । गत साता साढे ३ प्रतिशतले बढेको वित्त समूहको परिसूचक यो साता भने शून्य दशमलव ५३ प्रतिशत घटेको छ । यो साता वित्तसँगै व्यापारिक समूहको परिसूचक पनि घटेको देखिन्छ । व्यापारिक समूहको परिसूचक भने ३ दशमलव ६५ प्रतिशत घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
यी दुईबाहेक बाँकी समूहगत परिसूचकहरू बढेका छन् । लघुवित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ६० प्रतिशत बढेको छ भने बैंकिङ्को ५ दशमलव ३४ प्रतिशत, जीवन बीमाको ५ दशमलव शून्य ६ प्रतिशत, अन्यको ४ दशमलव ४५ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ८० प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक ३ दशमलव २७ प्रतिशत बढेको छ । त्यस्तै म्युचुअल फण्डको ३ दशमलव २४ प्रतिशत, लगानीको ३ दशमलव ११ प्रतिशत जलविद्युतको २ दशमलव ६६ प्रतिशत , विकास बैंकको १ दशमलव ७५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव १५ प्रतिशत बढेको छ ।
Discussion about this post