वर्षायाममा यी संक्रामक रोगको जोखिम, कसरी बच्ने ?

0
SHARES
4
VIEWS

डा. सागरकुमार राजभण्डारीफेमिली फिजिसियन

गर्मी तथा वर्षाको मौसम सुरु भएसँगै सरुवा रोगको जोखिम बढ्छ । पानीजन्य संक्रमण, खानपान, हावा र कीटाणुका कारण सरुवा रोग लाग्छ । वर्षायाममा भेल मिसिएर खानेपानीका स्रोतहरु दूषित हुन पुग्छन् । पानीमा जनावरको मलमूत्र मिसिएर पनि खानेपानीको स्रोत दूषित हुन्छ । त्यसैले दूषित पानीबाट सर्ने रोग गर्मी र वर्षयाममा धेरै हुन्छन् ।

यो बेला लामखुट्टे पनि बढी हुने भएकाले यसले पनि विभिन्न रोग निम्त्याउँछ । खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिंगा, लामखुट्टे, साङ्ला पनि धेरै पाइने भएकाले पनि यो समयमा संक्रमणको जोखिम धेरै हुन्छ । यस्तोमा गर्मी तथा वर्षामा लाग्ने मुख्य रोगहरू र बच्ने उपाय यस्ता छन् ।

 

झाडापखाला

वर्षायाम सुरु भएसँगै झाडापखालाबाट बिरामी हुनेहरूको संख्या बढ्छ । प्रायः जीवाणु, विषाणु तथा परजीवी लगायत संक्रमणले गर्दा झाडापखाला लाग्छ । दूषित पानी पिएमा, सडेगलेको, झिंगा बसेको खाना खाएमा, काँचै खाने तरकारी वा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा दिसामा भएका रोगका जीवाणुहरू पानी, खाना र हातको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ ।

 

झाडापखाला हुँदा बान्ता हुने, पेट दुख्ने, पेट गड्याङगुडुङ गर्ने, रक्तचाप कम हुने, हातखुट्टा र मांसपेशी दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने लगायत लक्षण देखा पर्छ । धेरै बान्ता र पखाला भएर जलवियोजन भएमा मानिसको मृत्यु समेत हुनसक्छ ।

बच्ने उपाय

झाडापखाला खाना र पानीबाट सर्ने भएकाले स्वस्थ जीवनशैली तथा आनीबानी र स्वस्थ आहारविहारले यो रोग लाग्न तथा फैलिनबाट जोगाउँछ । खाना बनाउनुअघि, खानुअघि र दिसा धोइसकेपछि राम्रोसँग साबुन पानीले हात धुने, खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरू राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ ।

हैजा

दिसा मिसिएको पानी र खानाले हैजा लाग्छ । भिव्रियो नामक ब्याक्टेरियाका कारण हुने हैजा संक्रमित व्यक्तिको दिसाबाट अर्को व्यक्तिमा सजिलै सर्छ ।

दूषित पानी र खानाबाट समेत यो मानिसमा सर्छ । यसको संक्रमण भएमा बिरामीलाई चौलानी जस्तो दिसा हुने, तारन्तार पखाला लाग्ने, बान्ता हुने, मांसपेशी बाउँडिने, मानिस बेहोस हुने, ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीरमा पानीको मात्रा जस्ता लक्षण देखा पर्छन् ।

बच्ने उपाय

वर्षायाममा सरुवा रोगबाट बच्न पानी उमालेर, शुद्धीकरण गरेर मात्रै पिउनु हुँदैन । तरकारी तथा फलफूल काँचै नखाने, राम्रोसँग पखालेर, पकाएर मात्र खानुपर्छ ।

घर वरपर सफा राख्ने, फोहोरजन्य वस्तु उचित तरिकाले विसर्जन गर्ने, अत्यधिक ज्वरो आउने, दिसामा रगत देखिने, दिनमा पाँच पटक भन्दा बढी पखाला लाग्ने जस्ता जटिल लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ ।

टाइफाइड

गर्मी मौसममा टाइफाइड हुने सम्भावना पनि बढी हुन्छ । साल्मोनेला टाइफी तथा टाइफी ब्याक्टेरियाले यो रोग लाग्छ । यसको सुरुवाती लक्षण ज्वरो हो । सुरुसुरुमा उच्च ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, शरीर कमजोर हुने, खोकी लाग्ने, खान मन नलाग्ने, कसैकसैमा शरीरमा गुलाबी खालको बिमिरा आउने जस्ता लक्षण देखा पर्छन् । यसको समयमा उपचार भएन भने आन्द्रा प्वाल परेर रक्तस्राव पनि हुनसक्छ । चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ ।

बच्ने उपाय

टाइफाइडबाट बच्न पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने, खानुअघि राम्ररी हात धुने, तारेको, भुटेको खानेकुरा नखाने, जतिसक्दो, ताजा र पौष्टिक आहारा खाने र टाइफाइडग्रस्त मानिसको संसर्ग नबस्ने आदि कुरामा ध्यान दिनुपर्छ ।

डेंगु

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

औलो

औलो पनि लामखुट्टेकै टोकाइबाट लाग्ने रोग हो । यो रोग संक्रमित पोथी एनफिलिज लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । औलो संक्रमित बिरामीलाई एकदमै जाडो अनुभव हुने, कामज्वरो आउने, अत्यधिक पसिना आउने, टाउको दुख्ने, बान्ता हुने, शरीर दुख्ने, ४८ वा ७२ घण्टाको फरकमा ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । यो रोग लामखुट्टेले टोकेर परजीवीहरू शरीरमा प्रवेश गरेको सामान्यतया १० देखि १५ दिनभित्रमा देखिन सुरु हुन्छ । समयमै उपचार भएन भने बिरामीको मृत्यु समेत हुन्छ ।

बच्ने उपाय

औलोबाट बच्न पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । त्यसका लागि झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्छ । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्किने तथा घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ । राति सुत्दा सधैं झुल प्रयोग गर्ने तथा घरबाहिर निस्कँदा लामखुट्टेको टोकाइबाट बच्ने मलमको प्रयोग गर्नु नै औलोबाट बच्ने प्रमुख उपाय हो ।

जन्डिस (हेपाटाइटिस ए, ई)

दूषित पानी र खानपानबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हेपाटाइटिस ‘ए’ र ‘ई’ अर्थात् जण्डिस सर्न सक्छ । गर्मी तथा मनसुनमा पानीको स्रोत दूषित हुने र सफाइमा कमी भए यो रोगको भाइरस मानिसको पेटमा प्रवेश गर्छ । यो रोग लागेमा आँखा पहेंलो हुने, खानामा रुचि कम हुने, पेट दुख्ने, ज्वरो आउने, पिसाब हल्का कालो हुने, कमेरो खालको दिसा आउने, टाउको दुख्ने, थकान महसुस हुने लगायत लक्षण देखा पर्छन् ।

बच्ने उपाय

जन्डिसबाट बच्न शुद्ध पानीको प्रयोग गर्नुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ र सफा तथा सन्तुलित खाना खाना खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित