आज गाईजात्रा । सास्कृतिक पर्वहरुको धनी समुदाय नेवार समुदायले यो जात्रा नुवाकोट लगायत देशका विभिन्न स्थानमा मनाउँदै आएका छन् । भाद्र कृष्ण प्रतिपदा (जनै पुर्णिमाको भोलिपल्ट) यो जात्रा मनाईने गरिएको छ ।
यस बर्षको गाइजात्रा पर्व बट्टार वजारमा यसपटक स्थानीय स्व .गणेश लाल चित्रकारको स्मृतीमा उहाँकै घरबाट शुरु हुँदैछ । स्थानीय अमृत चित्रकार, देब नारायण चित्रकार, सुबर्ण चित्रकारहरुको बुबाको स्मृतिमा दिउँसो १ बजेपछि विधि अनुसार पुजापाठ पछी गाइजात्रा–लाखेजात्रा–भजन गानाबजाना सहित शुरु हुन लागेको हो ।
नुवाकोट, काठमाण्डू उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ । तर एक संस्कृतिविद्ले प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताए । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् ।
गाईजात्रा के हो?
संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको बताउँछन् । उनले भने, “हिन्दू धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।’ नेवारी भाषामा यो पर्वलाई ’सापारू’ भनिन्छ । ’सा’ को अर्थ गाई र ’पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । संस्कृतिविद् ग्वंगःका अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ । उनी भन्छन्, “भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ। यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई मुकाबिला गर्न यहाँको टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन् ।’
गाईजात्राको इतिहास कस्तो छ?
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको बताए । उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो । उनी भन्छन्, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ। मलाई लाग्छ अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ । त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्व कति छ भन्ने देखाउँछ । उनले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ’सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ’सा’को अर्थ गाई र ’यात’ को अर्थ जात्रा भएको बताए । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उनको भनाइ छ । राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपिदिएको हुनसक्ने उनको विश्वास छ ।
उनले भने, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ । बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर मनाइने जात्रा हो यो । ’
गाईजात्रा र मृत्युगणना
गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ । तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो । बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ । “त्यसको महत्त्वपूर्ण सन्देश चाहिँ यो एक प्रकारको मृत्यु गणना जात्रा पनि हो। परम्परागत सहरमा तपाईँ बस्नुहुन्छ भने वर्षभरिमा कति मान्छेले ज्यान गुमाए भन्ने गाई जात्रा घुमाउने बाटोमा दिनभरि तपाईँ ढुकेर बस्नुहोस् एकदमै निश्चित र प्रामाणिक तथ्याङ्क आउँछ ।’
Discussion about this post