मुस्ताङ । कार्तिक १८, २०८१
नेपालका आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य हो मुस्ताङ । मुक्तिनाथ मन्दिरको दर्शनका साथै प्राकृतिक दृष्यावलोकनका लागि मुस्ताङ महत्वपूर्ण गन्तब्य मानिन्छ । भौगोलिक, धार्मिक, सांस्कृतिक विविधताले भरिएको नेपाल पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य हो । तीमध्ये पनि नेपालको मुस्ताङ जिल्ला अन्तर्राष्ट्रिय रूपमासमेत घुमफिरका लागि चर्चित गन्तव्य हो ।
द न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै उक्त सूचीमा नेपालको मुस्ताङ पनि समावेश गरेको हो । यसअघि गत वैशाखमा अमेरिका समाचार संस्था सिएनएनले पनि विश्वका २३ ठाउँको घुम्नै पर्ने स्थानको सूचीमा मुस्ताङलाई समेटेको थियो । उक्त सूचीमा मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँमध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको थियो । साथै, हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरूमध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको थियो । यता, न्यूयोर्क टाइम्सले पनि ठाउँहरूको सूची सार्वजनिक गर्दै मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै सन् २०२४ मा घुम्नै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएको छ । यसले पनि विश्वका पर्यटकलाई मुस्ताङले लोभ्याएको पुष्टि हुन्छ । यसरी न्यूयोर्क टाइम्सको घुम्न पर्ने ठाउँको सूचीमा मुस्ताङ समेटिएसँगै यसले समग्रमा नेपाल आउने पर्यटक संख्या बढाउने स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले द न्यूयोर्क टाइम्सको घुम्नपर्ने ठाउँको सूचीमा मुस्ताङ समेटिएसँगै देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । यसले मुस्ताङको मात्रै नभई देशकै प्रचार प्रसार हुने उनको भनाइ छ ।
“मुस्ताङमा धार्मिक, साँस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक तथा प्राचिन, महत्त्वका पर्यटकीय स्थलहरू छन् । नीलगिरी र धौलागिरीको काखमा रहेको यहाँ बौद्ध स्तूपा, बौद्ध मन्दिर, राता पहाडहरू, मठमन्दिरका आकृतिका पहाडहरू निकै सुन्दर छन् ,” उनले भने । मुस्ताङ जिल्लामा नेपाली मात्रै नभई हिन्दी तथा अङ्ग्रेजी चलचित्रसमेत छायाङ्कन भएका छन् । म्युजिक भिडियो छायाङ्कनमा समेत निर्माता निर्देशकको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । त्यस्तै, नेपालको पर्यटकीय गन्तव्यहरूको चर्चा समय समयमा विदेशी सञ्चार माध्यममा आउनुले पनि नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा ईँटा थप्ने काम गरेको छ । सोही क्रममा पछिल्लो समय अमेरिकी सञ्चारमाध्यम ‘द न्युयोर्क टाइम्स’ सन् २०२४ मा घुम्न उपयुक्त ठाउँको सूचीमा नेपालको मुस्ताङ पनि समावेश गरेको छ ।
भर्खरै मात्रै मुस्ताङमा कोराला नाका सञ्चालनमा आएको छ । यो देशको ठुलो नाकाको रूपमा सञ्चालनमा आएको पन्तको दावी छ । नेपालको महत्त्वपूर्ण गन्तव्यको रूपमा चर्चित मुस्ताङ्मा बुद्ध र हिन्दुहरूको संयुक्त पुजा पाठ गर्ने मुक्तिनाथ मन्दिर रहेको छ । पाँचौ धामको रूपमा प्रसिद्ध कागबेनी समेत यही छ । कागबेनीमा नुहाएर मुक्तिनाथमा पुजापाठ गर्नुपर्छ र मुक्तिनाथ नआएसम्म चार धाम गएको अर्थ हुँदैन भन्ने मान्यतासमेत रहिआएको उनले बताए ।
मुस्ताङ्मा पर्यटकहरूलाई आकर्षित गर्ने अर्को सहर लोमान्थाङ हो । अप्पर मुस्ताङमा रहेको यो सहरको पर्खालसमेत माटोको रहेको छ । यो माटैमाटोको सहरको रूपमा प्रख्यात छ । पुरातात्विक र ऐतिहासिक रूपमासमेत यहाँ पुग्नै पर्ने उनको भनाइ छ । मुस्ताङको फरक संस्कृति, फरक भूगोल, दुलर्भ बन्यजन्तु, याक र चौरी पालन, स्याउको राजधानी, ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य, हिउँदमा हिउँ जम्ने र बर्षामा पानी जम्ने मनमोहक तालतलैयाहरू आदि मुस्ताङ्मा पर्यटकलाई लोभ्याउने कारणहरू हुन् ।
मुस्ताङ हुँदै तिलिचो र थोराङ पास ट्रेकिङ जान सकिन्छ भने सेकुम ताल, नर्साङ गुम्बा र लक्ष्मी गुम्बा, धुम्ब ताल, कुसुक प्रेङ्गा गुम्बा, लो–घेकर गुम्बा, लुरी गुम्बा, दामोदर गुम्बा, धौलागिरी आइसफल, झोङ्ग गुफा, छोसेर गाउँका गुफाहरू, घोडचढी यात्रा, माउन्टेन बाइकिङ्ग, ठिमी लगायतका पाँच स्थानमा होमस्टे मुस्ताङ्मा पर्यटकलाई आकर्षक गर्ने माध्यम हुन् । दामोदर कुण्डबाटै कालीगण्डकी बग्छ, शालिग्रामको भण्डार हो ।
यसैगरी, सबैभन्दा पछिल्लो पटक पत्ता लागेको मानवीय बसोबास रहेको १३ घरधुरी शान्ता गाउँ पनि मुस्ताङमा पर्ने पन्तले बताए । उनका अनुसार उक्त गाउँ सम्भवतः दक्षिण एशियाकै कान्छो गाउँ हो । कोदो, फापर र उवाका लागिसमेत मुस्ताङ प्रसिद्ध छ । यहाँ धेरै खर्च गर्न सकिने र कम खर्च गर्ने सबैका लागि खाने बस्नेको व्यवस्था छ । प्रत्येक घर नै होटल भएको र थकाली र गुरूङ समुदायको कल्चर अनुसार यहाँ पाहुनाका लागि खाने बस्ने व्यवस्था भएको उनले बताए ।
कसरी पुग्ने मुस्ताङ ?
काठमाडौंबाट म्याग्दीको सदरमुकाम बेनीसम्म सजिलै पुग्न सकिने स्थान हो । बेनीबाट बिहानको समयमा सिधैँ जोमसोमको लागि बस र जीप पाइन्छ । टिकट नपाइएमा भने बेनीबाट मुस्ताङको घाँसासम्म अनि त्यहाँबाट जोमसोमको लागि बस पाइन्छ । जोमसोमबाट कागबेनी र मक्तिनाथसम्म सहजै गाडी पाइन्छ ।
माथिल्लो मुस्ताङ नै पुग्ने योजना भएपनि कागबेनीबाट छुसाङ अनि त्यहाँबाट लोमान्थाङसम्म जीप पाइन्छ । गाडीको सहज पहुँच भएकाले एक हप्तामै माथिल्लो मुस्ताङ पुगेर आउन सकिन्छ । लामो समय नै घुम्ने योजना भएकाहरूलाई ट्रेकिङ उत्तम विकल्प हो ।
Discussion about this post