पदयात्राको उत्कृष्ट गन्तब्य लाङटाङ

0
SHARES
0
VIEWS

पदयात्राका लागि प्रख्यात गन्तव्यस्थल हो लाङटाङ । यो पदमार्ग नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज लाङटाङ क्षेत्रभित्र पर्छ । लाङटाङ पदमार्ग बागमती प्रदेशको रसुवा जिल्लामा पर्ने गोसाइँकुण्ड गाउँपालिकामा रहेको छ । साविकका धुन्चे, स्याफ्रु, बृद्धिम, थुमन, टिमुरे र लाङटाङ गाविसलाई एकीकृत गरी प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डका नाममा यो गाउँपालिकाको नामकरण गरिएको छ ।

यस पदमार्गबाट लाङटाङ उपत्यका र क्यान्जिङ गोम्पाका साथमा गन्जोला पास, गोसाइँकुण्ड, जुगल हिमाल, दोर्जेलाक्पा हिमाल, हेलम्बु, शेर्माथाङ, मेलम्चीघ्याङ, तार्केघ्याङ, पाँचपोखरी, आमायाङ्ग्री, घ्याङफेदी, दुप्चेश्वर महादेव मन्दिरजस्ता आकर्षक गन्तव्य पनि पुग्न र अवलोकन गर्न सकिन्छ । तुलनात्मक रूपमा लाङटाङ पदमार्ग अन्य नाम चलेका पदमार्गभन्दा सहज र सजिलो रहेको  । राजधानी काठमाडौंबाट नजिकै रहेको यो पदमार्गको प्रस्थानबिन्दु स्याफ्रुबेंसी हो । काठमाडौंबाट ५ देखि ६ घण्टामा लगभग १०० किलोमिटरको यात्रापछि स्याफ्रबेंसी पुगिन्छ ।

काठमाडौंस्थित टोखा बजार छिचोलेर गुर्जे भञ्ज्याङ, थानसिं, छहरे, बिदुर हुँदै रसुवा जिल्लाको सदरमुकाम धुन्चे प्रवेश गर्नुअघि राम्चे भन्ने ठाउँ आउँछ । राम्चेको पहिरोले रसुवा जिल्लालाई सधैं दुःख दिने गर्थ्यो पहिले । निकै दुःखद कथा गाँसिएका छन् राम्चेको पहिरोसँग । अहिले राम्चे फेरिएको छ । पहिरो गइरहने पहाडमा सलल बग्ने कालोपत्रे बाटो बनेको छ । धुन्चे प्रवेशअघि राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाको चेकपोस्ट रहेको छ । निकुञ्ज क्षेत्र भएकाले वन्यजन्तु चोरी सिकारी र निकासी रोक्न यस्ता चेकपोस्ट राखिएका हुन् । यहाँ आफूसँग भएका झोला जाँच गराउनु अनिवार्य छ ।

स्याफ्रुबेंसीमा निजी गाडी पार्किङ गर्न सशुल्क पार्किङको व्यवस्था छ । स्याफ्रुबाट लगभग तीन घण्टाको हिँडाइपछि बाम्बु भन्ने ठाउँ आउँछ । लाङटाङ खोलाको छेवैमा रहेको यो सानो बस्ती स्याफ्रु छाडेपछिको पहिलो आराम स्थल हो । चिया पसल र केही होटल छन् बाम्बुमा । यहाँ पुग्दा नपुग्दै पहरामा भीर माहुरीका ठूलाठूला चाका देख्न सकिन्छ । त्यसो त ससाना गाउँ बाटामा नभेटिने होइनन् । लाङटाङ खोलाको छङछङ अनि अनेक मनमोहक प्रकृति नियाल्दै बाम्बुबाट अघि बढेर धेरैजसो पदयात्री लामा होटलमा बास बस्न पुग्छन् । नझुक्किनुहोला, लामा होटल ठाउँको नाउँ हो । समुद्री सतहदेखि २,४२० मिटर उचाइमा रहेको लामा होटलमा थुप्रै होटल रहेका छन् ।

कहिले लाङटाङ नदी वारि कहिले पारि, कहिले जंगल, कहिले पहरो, कहिले ससाना खोल्सा खोल्सी । यात्रा यसरी नै अघि बढ्छ । निकुञ्ज क्षेत्र भएकाले लाङटाङ प्रवेशअघि घोडातबेला रेञ्जपोस्टमा इन्ट्री गर्नुपर् । लामा होटलबाट झन्डै चार घण्टाको उकाली–ओरालीपछि घोडातबेला पुगिन्छ । लामा होटलमा ब्रेकफास्ट लिएर निस्कने धेरैजसो पदयात्री यहाँ लञ्चब्रेक गर्छन् । घोडातबेला पुग्नुअघि छुनामा भन्ने गाउँ कटेपछि बल्ल नेपाल टेलिकमको नेटवर्कले काम गर्छ । नत्र स्याफ्रु छाडेदेखि सञ्चार सम्पर्क बिच्छेद हुने गर्छ ।

घोडातबेलाबाट अघि बढेपछि आउने अर्को गाउँ हो, थाङस्याप । थोरै घर भएका थाङस्याप, गुम्बा, चम्कीजस्ता गाउँ लाङटाङ पदमार्गभरि भेटिन्छन् । थाङस्यापबाट अघि बढेर चम्की भन्ने ठाउँमा पुगेपछि लाङटाङ गाउँ देखिन्छ ।

लाङटाङ पदमार्गका बाटामा सी बकथ्रोनका झार टन्नै भेटिन्छन् । ससाना सुन्तला रंगका फलले पदयात्रीलाई मोहित बनाउँछ । स्थानीयहरू बाटा छेउछाउ फलेका यी फल खाँदै हिँड्दा रहेछन् । हामीले पनि बोटबाट टिप्दै केही दाना चाख्यौं । लाङटाङ क्षेत्रमा छ्याप्छ्याप्ती देखिने यो फलको जुस हरेक होटल र टी–सपमा पाइन्छ । एक लिटरको झन्डै तीन हजार पर्ने रहेछ । केही किसानले सी बकथ्रोनको व्यावसायिक खेती पनि गरेका छन् ।

लाङटाङ गाउँ प्रवेश गर्नुअघि एउटा निकै ठूलो पहिरो पार गर्नुपर्छ । त्यो पहिरोको वास्तविकता निकै नमिठो छ । २०७२ सालको भूकम्पअघि लाङटाङ गाउँ यही पहिरो बगेको ठाउँमा बसेको थियो । भूकम्पका कारण झन्डै एक किलोमिटर माथिबाट झरेको हिमपहिरोले सुन्दर र जीवन्त लाङटाङ गाउँ पूरै सोत्तर बनाइदियो । लगभग तीन सय मानिस अत्तोपत्तो नहुने गरी हिमपहिरोमा पुरिएका थिए । केही बगे । स्वदेशी, विदेशी, स्थानीय, पर्यटक, सेना, प्रहरी, पशु चौपाया सब परेका थिए, पहिरोमा । पहिरोले बगाएका नेपाली सेनाका जवानको सम्झनामा सेनाले पहिरो नजिकै स्मृति स्तम्भ बनाएको छ । लाङटाङ पहिरोका मृतकको सम्झनामा स्थानीय र सरकारले कहींकतै केही बनाएको भने भेटिँदैन । पहिरो पार गरेपछि नयाँ लाङटाङ गाउँ पुगिन् ।

मानेलाई घुमाउँदै नयाँ लाङटाङ गाउँ प्रवेश गर्दा ढुंगा बिछ्याइएका गोरेटा र गल्ली भेटिन्छन् । सफा र सुन्दर छ, लाङटाङ गाउँ । यहाँका होटल पनि निकै सफा छन् । सुविधा सम्पन्न ठाउँ लाग्छ । नुहाउन तातोपानीको व्यवस्था, रुमहरूमा एटेच ट्वाइलेट भएका होटल । विकट ठाउँमा आएर सुविधा पाउँदा पदयात्रीहरूले आनन्दित महसुस गर्नु स्वाभाविक हो ।

लाङटाङ पदमार्गको अन्तिम गन्तव्य कियान्जिन गोम्पा हो । त्यहाँ पुग्न लाङटाङ गाउँबाट लगभग तीन घण्टा हिँड्नुपर्छ । ३,८९० मिटर उचाइमा रहेको कियान्जिन गोम्पा रसुवा जिल्लाको उत्तरपूर्वमा रहेको सीमावर्ती गाउँ हो । यहाँ रहेको कियान्जिन गुम्बा शताब्दियौं पुरानो मानिन्छ । २०७२ सालको भुइँचालोले कियान्जिनमा पनि निकै क्षति पुर्‍याएको थियो । भुइँचालोले भत्किएको कियान्जिन गुम्बा लगायतका गुम्बा पुनर्निर्माणपछि फेरि सञ्चालनमा आइसकेका छन् । कियान्जिन प्रवेशसँगै पदयात्रीलाई चारैतिर ठिङ्ग उभिएका अग्ला हिमालको शृंखलाले स्वागत गर्छ । कियान्जिन उपत्यकाबाट देखिने हिमशृंखलाको पूर्ण आनन्द लिन कियान्जिन रि र सेर्को रि शिखर चढ्नुपर्छ ।

कियान्जिन गाउँबाट लगभग ५०० मिटरमाथि चढेपछि लोअर कियान्जिन रिको चुचुरोमा पुगिन्छ । कियान्जिन रिका दुई चुचुरा रहेका छन्– लोअर र अपर कियान्जिन । लोअर कियान्जिनको उचाइ ४,४०० मिटर छ भने अपरको ४,७०० मिटर ।

कियान्जिन रि पहाड चढ्ने ठाडो बाटो निकै चुनौतीपूर्ण छ । लगभग डेढ घण्टाको हिँडाइपछि लोअर कियानजिन रि पुगिन्छ । लोअर कियान्जिनबाट लगभग पैंतालीस मिनेट उकालो चढेपछि अपर कियान्जिन रि पुगिन्छ । अपर कियान्जिन पुगेर देखिने लाङटाङ र किमजुङ हिमाल, याला पिक, दोर्जे लाक्पा, गाङछेपो आदि हिमालको दृश्यले लाङटाङ पदमार्गको यात्रालाई सार्थक र सन्तुष्ट बनाउँछ ।

लाङटाङ पदमार्गको अर्को आकर्षण हो सेर्को रि । ४,९८५ मिटर अग्लो सेर्को रि पहाडको यात्राले हिमाल चढेको अनुभूति दिन्छ । पातलो हावा, अप्ठ्यारा ढुंगाको चढाइ र हिउँमा टेक्दै अघि बढ्नुपर्ने भएकाले यो पहाडको यात्रा निकै चुनौतीपूर्ण छ । दिउँसो निकै हावा चल्ने हुँदा धेरैजसो पदयात्रीले बिहान मिर्मिरेमा नै यात्रा सुरु गर्ने गर्छन् । सूर्योदयको आनन्द लिन चाहनेहरूलाई त स्थानीय र गाइडले राति १ बजे नै उठेर हिँड्ने सल्लाह दिन्छन् । चौंरी खर्क नाघ्दै सेर्को रिको उकालो चढ्दै गर्दा सूर्यका किरण परेर सुनौलो देखिने लाङटाङ हिमालको दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछ ।

सेर्को रिको यात्राभरि न कतै ओत लाग्ने ठाउँ भेटिन्छन्, न कतै पानीका स्रोत । टुप्पोमा पुग्ने बेलामा अचानक देखिने हिउँका थुप्रोले मन फुरुङ्ग हुने गर्छ । हिउँमा टेकेर चढ्नुपर्ने हुँदा गाइडहरू क्र्याम्पनको व्यवस्था गरेर आउन सल्लाह दिने गर्छन् । क्र्याम्पनको सहायताले हिउँमा हिँड्न निकै सजिलो बनाउँछ । सेर्को रिको शिखरबाट देखिने दृश्यले मन आनन्दित बनाउँछन् । ४,९८५ मिटरमा रहेको सेर्को रि, त्यहाँ फहराइरहेका लुंगदर अनि नेपथ्यमा कता हेरुँ, कता हेरुँ लाग्ने लाङटाङ लिरुङ, लाङटाङ रि, किमजुङ, याला पिक, दोर्जेलाक्पा, गाङ्छेपो, क्युङ्गा रि, लाङसिसा रि लगायत चारैतिर फैलिएका हिमशृंखला । मौसम अनुकूल भएको समयमा पूर्ण रूपमा खुलेका देखिन्छन् यी हिमाली शृंखला ।

सेर्को रि शिखर पुग्न कियान्जिन गाउँबाट लगभग साढे पाँच घण्टा उकालो चढ्नुपर्छ । सेर्को रि चढ्न जति उत्साहवर्द्धक र थकानयुक्त छ, ओर्लिनु उति नै जोखिमपूर्ण । शिखर चुमेर फर्किंदा दसदेखि एघार घण्टा समय लाग्ने गर्छ ।

प्राकृतिक सुन्दरताका बाबजुद कियान्जिनको अर्को आकर्षण हो– दुग्ध विकास संस्थानले सञ्चालन गरिरहेको कियान्जिन चिज प्रशोधन केन्द्र् । स्विस सरकारको सहयोगमा बनेको यो केन्द्र पनि २०७२ सालको भुइँचालोमा ध्वस्त भएको थियो । पुनर्निर्माणपछि ०७५ सालबाट चिज प्रशोधन केन्द्र फेरि सञ्चालनमा आइसकेको छ । केन्द्रको सञ्चालनले यस क्षेत्रका किसानलाई दूध बेचेर आत्मनिर्भर हुन सहयोग गरेको छ ।

लाङटाङ क्षेत्रभरि भेटिने गाउँठाउँको नामपाटी र समुद्री सतहदेखिको उचाइमा एकरूपता छैन । यसले पदयात्रीलाई निकै अलमलमा पार्ने गर्छ । लाङटाङ कि लामटाङ रु सेर्को रि कि चिरखुरी रु लामा होटल २,४२० कि २,४८० रु पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा चर्चा चुलिएसँगै यहाँ स्वदेशी र विदेशी पर्यटकको आगमन बढेको छ । यस्तो चाप थेगिरहेको लाङटाङ पदमार्गभरिका होटल व्यवसायी धन्यवादका पात्र हुन् । नत्र देशको अर्थतन्त्रको प्रमुख आय मानिने पर्यटनमा राज्यको लगानी लाङटाङ पदमार्ग हिँड्दा कहींकतै देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित