राजविराज, जेठ २८ गते । प्राकृतिक रूपमा पाक्ने सिजनभन्दा अगाडिदेखि नै बजारमा अप्राकृतिक रूपमा पाकेका आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन्। प्रतिबन्धित वा स्वीकृत रसायन प्रयोग गरेर काँचो आँपलाई अस्वाभाविक तरिकाले पकाएर खुलेआम बिक्री भइरहेको हो। तर, आँपमा कस्तो रसायन प्रयोग भइरहेको छ भन्नेबारे उपभोक्ता, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन र जिल्ला अनुगमन टोली अनभिज्ञ छन्। यस्तो आँप खाँदा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भए तापनि नियमनकारी निकाय निष्क्रिय देखिन्छ।
आँपको राजधानी मानिने सप्तरी जिल्लामा यतिबेला मानवीय स्वास्थ्यका लागि हानिकारक क्याल्सियम कार्बाइड हालेको आँप खुलेआम बिक्री भइरहेको छ। जनस्वास्थ्यमा असर गर्ने यस्ता आँपको बिक्रीमा रोक लगाउन नियमनकारी निकायबाट कुनै पहल भएको छैन। कार्बाइड रसायन हालेको आँप खाँदा जनस्वास्थ्यमा गम्भिर असर गर्ने गरेको छ।
असारको दोस्रो सातादेखि स्वाभाविक रूपमा पाक्ने आँपलाई जेठको पहिलो, दोस्रो हप्तादेखि नै क्याल्सियम कार्बाइड प्रयोग गरेर बिक्री गरिरहेको एक आँप व्यापारीले बताउनुभयो। “अन्य रसायनभन्दा क्याल्सियम कार्बाइडले छिटो पकाउने हुँदा यही प्रयोग गर्छौँ,” उहाँले भन्नुभयो।
यसरी पकाएको आँप खाँदा मुटु, कलेजो र मस्तिष्कमा समेत असर गर्न सक्ने चिकित्सक दिलीप साहले बताउनुभयो। क्याल्सियम कार्बाइड हालेर पकाएको आँप खाँदा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने जस्ता स्वास्थ्य समस्या निम्तिन सक्ने उहाँले जानकारी दिनुभयो।
“कार्बाइडमा रहेको कार्बनडाइअक्साइड र हाइड्रोजनले अक्सिजनको मात्रा सोसेर २४ घण्टामै आँपलाई पकाइदिने भएकाले यसले पेटसम्बन्धी रोग लाग्छ,” उहाँले भन्नुभयो, “पेटकै रोगले अन्य रोग उत्पादन गर्छ।” पौष्टिक आहारका रूपमा रहेको आँपमा भिटामिन, क्याल्सियम लगायतका तत्त्व पाइने भए पनि यस्तो रसायन हालेपछि आँप स्वास्थ्यका लागि हानिकारक हुने गरेको छ।
सिजनभन्दा अगावै काँचो आँप जसरी पनि पकाएर महँगोमा बेच्ने प्रवृत्ति रहेको उपभोक्ता डोमन साहले भन्नुभयो। किसानभन्दा व्यापारीहरूले बढी मुनाफा कमाउन काँचो आँपलाई रसायन हालेर पकाएर बेच्ने गरेको पाइन्छ। काँचो आँपमा रसायन प्रयोग गरी पकाएर सप्तरीको राजविराज, कठौना, महुली, हनुमाननगर, कञ्चनपुर, बोदेबरसाइन, कल्याणपुर, कुशहा लगायतका बजारमा बिक्री भइरहेको छ।
यस जिल्लामा कुल आँपको बोटमध्ये ७५ प्रतिशत बोट पूर्व–पश्चिम राजमार्गको उत्तरी भेगमा रहेका छन्। सप्तरीमा मुख्यत: मालदह, बम्बई, आम्रपाली, मल्लिका, केलुवा, कृष्णभोग, कल्कत्तिया, सरही लगायत जातका आँप उत्पादन हुने गरेका छन्।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताका अनुसार जिल्लामा आँपका बोटमध्ये करिब ७५ प्रतिशत मालदह, १० प्रतिशत बम्बई, कल्कत्तिया, दसहरी, मल्लिकासहित अन्य १५ प्रतिशत जातका रहेका छन्। जिल्लाको उत्तरी भावर क्षेत्र अन्तर्गत धरमपुर, रूपनगर, घोघनपुर, जगतपुर, कञ्चनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुशहा, कल्याणपुर, कडरबोना र कठौना लगायतका क्षेत्रमा आँप खेती भइरहेको उहाँले बताउनुभयो।
सप्तरीमा उत्पादित आँप काठमाडौँ, विराटनगर, हेटौँडा, वीरगन्ज, पोखरा लगायत देशका विभिन्न सहरमा आपूर्ति हुने गरेको छ। राजधानीमा खपत हुने आँपमध्ये ४० देखि ५० प्रतिशतसम्म सप्तरीबाटै जाने गरेको छ।
नियमनकारी निकाय अनभिज्ञ
यता खाद्य वस्तुहरूको उत्पादनस्तर देखि बिक्री वितरण लगायत आयात-निर्यातसम्म स्वच्छता कायम गर्ने, विश्वसनीय र भरपर्दो प्रयोगशाला सेवा दिने लगायतका उद्देश्यसहित राजविराजमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पनि छ। तर, कार्यालयअगाडि नै रसायनयुक्त आँप बिक्री भइरहेको स्थानीय जयनारायण मण्डलले बताउनुभयो। यस विषयमा डिभिजन कार्यालय र जिल्ला बजार अनुगमन समिति भने अनभिज्ञ छन्।
सो सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख विमल भट्टराईले अहिले बजारमा पाइरहेको पाकेको आँपको निरीक्षण, अनुगमन तथा प्रयोगशाला परीक्षण नगरिएको जानकारी दिनुभयो। उहाँले विगतमा फलफूल मन्डीबाट ल्याएको आँपसहित फलफूलको प्रयोगशाला जाँच गर्दा कार्बाइड रसायन प्रयोग नगरिएको तर अन्य पोचवाला इथिलिन रसायन प्रयोग गरेको, जुन स्वास्थ्यका लागि हानिकारक नरहेको पाइएको बताउनुभयो। इथिलिन रसायनबाट पकाएको आँप सुरक्षित र स्वीकृत रहेको उहाँको दाबी छ।
जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बजारमा बिनासिजन पाइरहेको पाकेको आँपका बारेमा धेरै जनगुनासो आएकाले भोलि नै अनुगमन गरिने तालिका मिलाइएको बताउनुभयो। यस वर्ष आँपबाहेक अन्य खाद्यान्न पसलहरूको अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो।

























Discussion about this post