आज श्रीपञ्चमी

0
SHARES
1
VIEWS

नुवाकोट । ९ माघ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा नुवाकोट जिल्लामा रहेका विद्यालयहरुले आफ्ना प्राङ्गणमा देवी सरस्वतीको पुजाआजा गरेका छन् । आजकै दिनबाट साना बालबालिकालाई अक्षराम्भ गराउने प्रचलन समेत रहेको छ ।
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरिने यस पर्वमा सरस्वती पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मिक विश्वास छ । आज देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन रहिआएको छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले आफ्ना कला–साधनाका सामग्री—कलम, कापी, कुची तथा वाद्ययन्त्र—लाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। तान्त्रिक साधकहरूले तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा पनि सरस्वतीको उपासना गर्ने परम्परा छ । सूर्य उत्तरतर्फ लाग्दै दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्ध ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा–उपासना गरे ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने मान्यता छ। गान्धर्व पुराणमा आज सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख पाइन्छ ।

परम्पराअनुसार आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्यका लागि साइत हेर्नु नपर्ने विश्वास छ। तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्महरू गरिँदैनन् । यस दिन बालबालिकालाई शिक्षा आरम्भ गराउनुका साथै नाक–कान छेडिदिने चलन पनि छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती तथा ललितपुरको लेलेलगायत देशका विभिन्न स्थानका सरस्वती मन्दिरहरूमा आज विशेष भीड लागेको छ। सरस्वतीलाई चढाइने सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित