एसईईमा सुधार, ६६ प्रतिशत उत्तीर्ण

0
SHARES
0
VIEWS

काठमाडौँ —परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दै एक महिनाभित्र सार्वजनिक गरिएको २०८२ को एसईई नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ६१.८१ प्रतिशत उत्तीर्ण भएका थिए । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो ।

नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी सहभागी भएकामा २ लाख ८४ हजार विद्यार्थी उत्तीर्ण भए भने १ लाख ४६ हजार ५ सय ७ जना अनुत्तीर्ण भए । अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षा १ असारदेखि सञ्चालन हुने परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताएका छन् ।

यसअघि नतिजा प्रकाशन गर्न ३ महिनासम्म लाग्ने गरेको थियो । यस पटक परीक्षा सकिएको २९ दिनमै नतिजा आएको छ । सरकारले एसईई नतिजा एक महिनाभित्र र कक्षा १२ को नतिजा डेढ महिनाभित्र सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो । विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले पनि नतिजामा केही सुधार देखिएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल बताउँछन् । यसपालि जीपीए ३.६० देखि ४ सम्म ल्याउने विद्यार्थीे संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।

गत वर्ष पनि उक्त जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या लगभग त्यति नै थियो । जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना छन् । यस्तै २.८० देखि ३.२० जीपीएसम्म ९४ हजार २ सय २२ ले ल्याएका छन् । सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको उक्त जीपीए प्राप्त गरेका हुन् । अघिल्ला वर्षमा पनि सोही जीपीए ल्याउने विद्यार्थीे संख्या बढी रहँदै आएको छ । जीपीए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थी ५५ हजार ९ सय ७७ छन् । २.४० भन्दा मुनि २.० सम्म ल्याउने विद्यार्थी संख्या ५ हजार १ सय ९० छ । जीपीए २.० भन्दा मुनि १.६० सम्म ल्याउने विद्यार्थी ७ जना मात्र छन् । गत वर्ष ८ जना थिए ।

समग्र नतिजामा सुधार देखिए पनि प्रदेशगत रूपमा भने असन्तुलन देखिन्छ । बागमतीबाट ७८ प्रतिशत उत्तीर्ण हुँदा सुदूरपश्चिममा ५१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । सुदूरपश्चिम, मधेश, कर्णाली र लुम्बिनीको नतिजा राष्ट्रिय औसत (६६ प्रतिशत) भन्दा कमजोर छ । बागमती, गण्डकी र कोशी राष्ट्रिय औसतभन्दा अगाडि छन् । गत वर्ष राष्ट्रिय औसतभन्दा राम्रो रहेको कर्णाली यस पटक कमजोर देखिएको छ ।

सुदूरपश्चिमबाट ४२ हजार २ सय ९९ परीक्षार्थी सहभागी थिए । जसमा २० हजार ६ सय ३५ जना अर्थात् ४८.७८ प्रतिशत अनुत्तीर्ण भए भने ५१.२२ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । सुदूरपश्चिमबाट गत वर्ष ५५ प्रतिशत पास भएका थिए ।

कर्णालीबाट ३२ हजार ३ सय ३६ विद्यार्थी एसईईमा सहभागी थिए । जसमा १३ हजार २ सय ४१ (४०.९४ प्रतिशत) अनुत्तीर्ण भए । ५९.०६ प्रतिशत मात्र कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन् । गत वर्ष कर्णालीबाट ७० प्रतिशत उत्तीर्ण भएका थिए ।

लुम्बिनीबाट ६१.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा ३८.६६ प्रतिशत अनुत्तीर्ण भएका छन् । लुम्बिनीमा ७२ हजार १ सय ४९ परीक्षार्थी थिए । २७ हजार ९ सय ९३ अनुत्तीर्ण भएका छन् । गत वर्ष ५१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण थिए । गण्डकीबाट ७२.७६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा २७.२४ प्रतिशत अनुत्तीर्ण भएका छन् । गण्डकीमा ३६ हजार ४ सय ९२ विद्यार्थी सहभागी थिए । जसमा ९ हजार ९ सय ४३ जना असफल भए । गण्डकीबाट गत वर्ष ७६ प्रतिशत उत्तीर्ण भएका थिए ।

राष्ट्रिय औसतमा सधैं अगाडि बागमतीबाट सबैभन्दा धेरै ९८ हजार ८ सय १७ विद्यार्थी सहभागी थिए । जसमा २१ हजार ७ सय ४ जना अनुत्तीर्ण भए । बागमतीबाट ७८ प्रतिशत विद्यार्थी सफल र २१.९६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन् । गत वर्ष ८२ प्रतिशत विद्यार्थी सफल भएका थिए ।

मधेशले अघिल्लो वर्षको तुलनामा नतिजामा सुधार गरेको छ । तर पनि राष्ट्रिय औसतसम्म पुग्न सकेको छैन । मधेशबाट ५८.४३ प्रतिशत विद्यार्थी सफल हुँदा ४१.५७ प्रतिशत

विद्यार्थी अनुत्तीर्ण भए । गत वर्ष २८ प्रतिशत मात्र सफल भएका थिए । मधेशबाट यस पटक ७६ हजार ३ सय १७ जना परीक्षामा सहभागी थिए । त्यसमा ३१ हजार ७ सय २५ जना अनुत्तीर्ण भए ।

कोशीबाट ७२ हजार २ सय ५६ परीक्षार्थी रहेकामा २१ हजार ३ सय ६६ अर्थात् २९.५६ प्रतिशत अनुत्तीर्ण भए । ७०.४४ प्रतिशत उत्तीर्ण भएका छन् । गत वर्ष ५१ प्रतिशत उत्तीर्ण भएका थिए ।

दुर्गमका जिल्लामा विषयगत शिक्षकको कमी हुनु, अभिभावकमा कमजोर साक्षरता, विद्यार्थीको सिकाइ उपलब्धि कमजोर लगायतका कारण नतिजा सन्तोषजनक हुन नसकेको परीक्षा बोर्डका अधिकारीहरूको भनाइ छ । प्रत्येक विषयमा विद्यार्थीले कम्तीमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० अंक प्राप्त गरे मात्र ग्रेडिङ (उत्तीर्ण) हुने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ ले गरेको छ । उक्त अंक प्राप्त गर्न नसक्ने विद्यार्थी नन्ग्रेडिङ (अनुत्तीर्ण) मा परेका हुन् । नतिजामा चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि जेठ १ देखि ७ सम्म आवेदन दिन सक्ने सदस्य सचिव अर्यालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित