काठमाडौं । पूँजी बढाउन आठ बीमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेको इन्सुरेन्स, एनएलजी इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।
यी कम्पनीमध्ये सानिमा जिआईसी र सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छैनन् भने बाँकी सबै कम्पनीले निवेदन दिइसकेका छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्याउन निर्देशन जारी गरेसँगै कम्पनीहरूले मर्जर थालेका थिए । मर्जर तथा बोनसबाट पनि पूँजी नपुग्ने भएपछि अहिले बीमा कम्पनी हकप्रद निष्कासन गर्न लागेका हुन् ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब २ करोडभन्दा बढी पुग्नेछ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हाल कायम चुक्ता पूँजीको ८८ दशलमव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । यस कम्पनीको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पुग्नेछ ।
त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब ८२ करोडभन्दा बढी पुग्नेछ । प्रभु इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० दशलमव १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब २७ करोडभन्दा बढी पुग्नेछ ।
त्यस्तै, नेको इन्सुरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५१ करोडभन्दा बढी पुग्नेछ ।
त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । उक्त हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोडभन्दा बढी पुग्नेछ ।
हालसम्ममा सेबोनमा निवेदन नदिएका सानिमा जिआईसीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् । हकप्रद शेयर निष्कासनबाँडफाँट पश्चात सन नेपालको चुक्ता पूँजी रू. ५ अर्ब ३ करोडभन्दा बढी पुग्नेछ भने सानिमा जिआईसी इन्इस्योरेन्सको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुग्नेछ ।
Discussion about this post