ग्रामिण क्षेत्रको बिकास प्राथमिकतामा : मुख्यमन्त्री लामा

0
SHARES
26
VIEWS

८ साउन, २०८१, नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ग्रामिण क्षेत्रको बिकास सरकारको प्राथमिकतामा रहने वताउनुभएको छ । प्रदेश मुख्यमन्त्रीमा चयन भएसँगै बुधबार सामाजिक सञ्जाल मार्फत लामाले आफ्नो सरकारको प्राथमिकता क्षेत्रहरु प्रस्ट पार्नुभएको हो ।
मुख्यमन्त्री लामाले लेख्नुभएको छ–प्रदेशभित्र रहेका उत्पादनमूलक जस्तै कृषि, उद्योग र पर्यटनका क्षेत्रहरूमा व्यावसायिकता अभिवृद्धि गर्दै रोजगारीको सिर्जना गर्नु यो सरकारको अर्को लक्ष्य रहेको छ । प्रदेश सरकारले हाल सञ्चालन गर्दै आइरहेका साना र मझौला विकास निर्माणका आयोजनाहरू स्थानीय तह मार्फत कार्यान्वयन गर्न प्रोत्साहन गर्दै प्रतिफल दिन सक्ने ठूला विकासका आयोजनामा लगानी गर्ने र ग्रामीण क्षेत्रका नागरिकहरूले सुविधा प्राप्त गर्नसक्ने सिँचाई, खानेपानी, सडक, पुल तथा पर्यटन पूर्वाधारका आयोजनाहरूले प्राथमिकता पाउनेछन् । थप लामाको स्टाटसबाट
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात २०७२ सालमा संबिधानसभा मार्फत संघीयता सहितको संबिधान जारी भयो र २०७४ सालमा आम निर्वाचन सम्पन्न भई औपचारिक रुपमा प्रदेश संरचनाको स्थापना भयो ।
मैले विद्यार्थीकालदेखि नै नेपाली काङ्ग्रेस पार्टीको राजनीति सुरु गर्दै राजनीति मार्फत देश र जनताको सेवामा समर्पित हुने क्रममा २०५४ सालको स्थानीय निर्वाचनबाट जनप्रतिनिधिको रूपमा चुनिँदै २०७० सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साविक क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएँ । अघिल्लो संविधानसभा असफल भएतापनि तत्कालीन दोस्रो संविधानसभामा हामी निर्वाचित भएसँगै मुलुकले नयाँ संविधान पायो । यसर्थमा उक्त कार्यकाल एक संविधानसभा सदस्यको हैसियतले सफल रहन गयो । त्यसैगरी २०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यको रुपमा समानुपातिक तर्फबाट निर्वाचित हुँदै गर्दा नुवाकोट जिल्ला र निर्वाचन क्षेत्रका विभिन्न भौतिक पूर्वाधारहरू, सडक, पुल तथा अन्य विभिन्न सामाजिक क्षेत्रमा जनप्रतिनिधिको हैसियतमा महत्त्वपूर्ण कामहरूलाई निरन्तरता दिने अवसर मिल्यो। २०७९ सालको आम निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फबाट भाग लिने इच्छा हुँदाहुँदै नेपाली कांग्रेस पार्टीको इच्छा र निर्देशन बमोजिम प्रदेश सभामा निर्वाचन लड्नुपर्ने अवस्था रह्यो । यो बाध्यतालाई अवसरमा बदल्ने उद्देश्य राख्दै नुवाकोट जिल्ला क्षेत्र नम्बर २ को २ बाट मतदाता आमाबुबा तथा दाजु भाइ दिदीबहिनीहरूको माया स्नेह र भरोसाको प्रतिबिम्ब अमूल्य मत प्राप्त गरी प्रदेश सभा सदस्यको लागि निर्वाचित भएसँगै बागमती प्रदेशमा नेपाली कांग्रेस पार्टीबाट नेतृत्व गर्ने अवसरको खोजी सुरु गरियो । पार्टीका अग्रज नेता, प्रदेश सभाका माननीयज्यूहरू र आम शुभचिन्तकहरूको शुभेच्छाले बागमती प्रदेश सभामा नेपाली कांग्रेस पार्टीको नेतृत्व गर्ने अवसर जुर्यो । प्रदेश सभाको अघिल्लो कार्यकाल नेपाली कांग्रेसको नेतृत्वबिना नै समाप्त भएको र २०७९ सालको निर्वाचन पश्चात दोस्रो कार्यकालको १९ महिना बितिसक्दा बागमती प्रदेशमा नेपाली कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।
कोभिड महामारीसँगै विश्वभर फैलिएको आर्थिक मन्दीको कारण शिथिल अर्थतन्त्र अझै लयमा फर्किन सकेको छैन । प्रदेश सरकारका कतिपय संविधान प्रदत्त अधिकार र जिम्मेवारीहरू स्वायत्त हुन नसक्दा प्रदेश सरकारले जनताका सेवा डेलिभरी गर्नुपर्ने विषयमा केही कमजोरीहरू देखिन गएको अवस्थाले आम जनमानसमा प्रदेश सरकारको भूमिकाप्रति नैरास्यता उत्पन्न हुन थालेको यताकता महसुस गर्न सकिन्छ । यो बिषम परिस्थितिमा हामीले प्रदेश सरकारको नेतृत्व सम्हाल्नु एक चुनौतीपूर्ण विषय छँदैछ। तथापि केही वर्षअघिदेखि संघीय सरकार र प्रदेश सरकारहरू राजनीतिक अस्थिरताका कारण छिनछिनमा परिवर्तन भइरहने, जसका कारण जनताका सेवामा सरकारको भूमिका कमजोर हुँदै गएकोले यो अवस्थालाई अन्त्य गर्दै राजनीतिक स्थिरता कायम गर्न र जनताका सेवा डेलिभरीलाई परिणाममुखी बनाउन गत महिना मुलुकका ठूला दुई राजनीतिक दलहरू नेपाली कांग्रेस पार्टी र नेपाल कम्युनिस्ट पार्टी एमाले का शीर्षस्थ नेताहरूले एक प्रकारको सहमति गरी संविधानमा आवश्यक देखिएका केही समयानुकूल परिवर्तनहरू अहिलेको आवश्यकता ठान्दै स्थिर सरकारको लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अनुरूप यस बागमती प्रदेशमा नेपाली काङ्ग्रेसको मेरो नेतृत्वमा नेकपा एमाले सम्मिलित भई यो सरकार गठन भएको छ । बागमती प्रदेशमा यो सरकारले संविधान प्रदत्त प्रदेशका एकल अधिकारहरूलाई संस्थागत गर्न आवश्यक ऐन कानुनहरू निर्माण तथा संशोधन गर्दै विकास, समृद्धि, रोजगारी, सुशासन, आर्थिक अनुशासनका क्षेत्रमा संघीय सरकार र स्थानीय तह बीच समन्वयकारी भूमिका खेल्दै परिणाममुखी कार्यहरूमा जोड दिने मेरो नेतृत्वको यो सरकारको प्रमुख लक्ष्य रहनेछ। प्रदेश संरचनाभित्रका विभिन्न निकायहरूमा सुधारको आवश्यकता महसुस गरेका छौँ।
प्रदेशभित्र रहेका उत्पादनमूलक जस्तै कृषि, उद्योग र पर्यटनका क्षेत्रहरूमा व्यावसायिकता अभिवृद्धि गर्दै रोजगारीको सिर्जना गर्नु यो सरकारको अर्को लक्ष्य रहेको छ। प्रदेश सरकारले हाल सञ्चालन गर्दै आइरहेका साना र मझौला विकास निर्माणका आयोजनाहरू स्थानीय तह मार्फत कार्यान्वयन गर्न प्रोत्साहन गर्दै प्रतिफल दिन सक्ने ठूला विकासका आयोजनामा लगानी गर्ने र ग्रामीण क्षेत्रका नागरिकहरूले सुविधा प्राप्त गर्नसक्ने सिँचाई, खानेपानी, सडक, पुल तथा पर्यटन पूर्वाधारका आयोजनाहरूले प्राथमिकता पाउनेछन् ।
प्रदेश सरकारको राजस्व प्रणालीलाई समयानुकूल बनाउँदै करका दायराहरू फराकिलो बनाउने र आन्तरिक स्रोत साधनको उच्चतम प्रयोगको खोजी गरी राजस्व अभिवृद्धिलाई जोड दिने मेरो नेतृत्वको सरकारको उद्देश्य रहनेछ ।
प्रदेश सरकार मातहतका अस्पतालहरूको क्षमता अभिवृद्धि गर्दै नागरिकले आफ्नै ठाउँबाट गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा उपभोग गर्न पाउने, शिक्षाका क्षेत्रमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षकहरूको व्यावसायिक क्षमता विकासका लागि आवश्यक नीति निर्माण सहित यो सरकारले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
अन्त्यमा, प्रदेश सरकारको नेतृत्व गर्न यो महत्वपूर्ण अवसरका लागि आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुहुने नेतागण, सरोकारवाला ज्यूहरू, प्रदेश सभाका माननीय ज्यूहरू, शुभेच्छुक ज्यूहरू र विशेषगरी मतदाता ज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित