६ जेठ, २०८१ । नुवाकोट ।
नुवाकोटको लिखु गाउँपालिकालाइ अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरिएको छ । वुधवार लिखु गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक कार्यक्रमका विच गाउँपालिकालाइ अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरेको हो ।
घोषणा कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गरिएको बताए । उनले पालिका भित्रका सबै वडाहरुमा पनि अभियान संचालन सम्पन्न भई गाउँपालिकालाई नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको बताए ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणवहादुर विष्टले पालिकाभित्र अझै पनि ४ देखि १३ वर्ष सम्मका कुनै पनि बालबालिकाहरु विद्यालय नगएको भेटिएमा तुरुन्त नजिकको विद्यालयका प्रधानाध्यापक, वडा कार्यालय वा लिखु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा सम्पर्क गरिदिन आग्रह गरेका छन् । घोषणा कार्यक्रममा लिखु गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी, शिक्षक तथा विद्यार्थीको उपस्थिती रहेको थियो ।
Discussion about this post