पृथ्वी दिवस मनाईदै

0
SHARES
0
VIEWS

२७ पौष, नुवाकोट । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले राजधानी बनाई राजकाज गरेको नुवाकोट साततले दरवार परिसर र उनको देहबसान भएको स्थल देविघाटमा कार्यक्रम आयोजना भएको हो । 

नुवाकोट दरवार परिसरमा विदुर २ को आयोजनामा हुने कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वहादुर सिंह लामा र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको उपस्थिती रहने छ । यस्तै, दिवसको अवसरमा विदुर ५ देविघाटमा रहेको पृथ्वी स्मारकमा पनि विशेष कार्यक्रम आयोजना हुने भएको छ । 

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।

विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए । पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । उनको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरुले शुभकामना सन्देश दिएका छन् ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । राष्ट्रनिर्माताले त्यसबेला दिएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ संघसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् ।

उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा नुवाकोटको देविघाटमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित