नारायणगढ–मुग्लिन सडक पुस ७ देखि २८ गतेसम्म दिनहुँ बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले आइतबार सूचना निकाल्दै सडक बन्दबारे जानकारी गराएको हो ।
मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि आडको कडा चट्टानी पहाड काट्न गत वर्षझैं सडक बन्द हुने आयोजनाले जनाएको छ । गत वर्ष पनि यही कामका लागि पुस ५ बाटै दिउँसो सडक बन्द गरिएको थियो ।
सुरूमा एक महिनाका लागि भनेर बाटो बन्द हुन थालेको थियो । तर पटक–पटक थपेर फागुन २० गतेपछि मात्रै बाटो बन्द हुन रोकिएको थियो ।
साढे दुई महिना बाटो बन्द गरेर काम गरे पनि कडा चट्टान परेका कारण पहाड काट्ने काममा खासै प्रगति भएको थिएन । विस्फोटक प्रयोग गर्ने भनेर गत वर्ष पहाड काट्न रोकिएको थियो ।
नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । यसलाई राजधानीको लाइफ लाइन नै भनिन्छ । दिनहुँ १५ हजारसम्म गाडी ओहरदोहर गर्ने यो सडक बर्खायाममा पहिरो गएर लामो समय अवरूद्ध हुने गरेको छ भने निर्माणका लागि पनि बर्सेनि बन्द हुन लागेको छ ।
Discussion about this post