रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्र

0
SHARES
0
VIEWS

 

उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ।

आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ। भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए।

एक सय ११ मेगावाट क्षमताको विद्युत् आयोजनाका उपकरण जडान गर्न जिम्मा लिने भोइथ भारतीय कम्पनीमार्फत दैनिक ६० प्राविधिक जनशक्तिले तीव्ररूपमा जडान गरिरहेका छन्।

उपकरण जडान कार्य दैनिक १२ घण्टा हुने गरेको छ। दुई महिनाको अन्तरालमा इलेक्ट्रिकल प्यानल जडान गर्ने काम भइसकेको बताइन्छ। रसुवागढी नजिक भोटेकोशीमा बाँधेर विद्युत्गृहमा प्रतिसेन ८० घन मिटर पानी पठाउने डिजाइनअनुरूप चार हजार १८५ मिटर हेड्ररेस सुरुङसमेतका संरचना निर्माण भइसकेको आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिए। उपकरण जडानका साथसाथै आयोजना प्रभावित क्षेत्रका बासिन्दामाझ दिनुपर्ने सुविधाका काममा समेत सहयोग हुँदै आएको छ।

आयोजनाले भोटेकोशी–दालगाउँ पाँच किमी, रोङ्गा–थुमन १३ किमी सडक टिमुरेमा तातोपानी पोखरी निर्माण, टिमुरे र थुमन क्षेत्रको पूरै भागमा विद्युतीकरण, थुमनमा गुम्बा निर्माण, दालगाउँमा विद्यालय भवन, टिमुरेमा भित्री सडक निर्माणका साथै ढलको व्यवस्थापन कार्य सम्पन्न गरेको छ।

यसैगरी खैदी सडक निर्माणमा आर्थिक सहयोग, धुञ्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय भवन निर्माण, टिमुरे गाउँको फोहरमैला व्यवस्थापनका लागि ट्र्याक्टर प्रदान, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा स्वास्थ्यकर्मी तथा शिक्षक व्यवस्थापनजस्ता विविध प्रकारका थुप्रै सेवा प्रदान गरेको आयोजनाले जनाएको छ।

वन क्षेत्रमा बिरुवा रोपण, डढेलो नियन्त्रण कार्यक्रमका साथै वर्षायामको समयमा स्याफ्रु–रसुवागढी राजमार्गमा हुने अवरोध हटाई यातायात सञ्चालनबाट भन्सार राजस्व असुलीमा समेत उल्लेखनीय सहयोग गर्दै आएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित