नुवाकोट सन्देश संवाददाता । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए ।कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो ।
महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो ।
सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ ।
महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ ।
समूहबीचको विवादले खुल्यो राज
आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्को समूहले प्रहरीलाई सो सुराकी दिएको थियो ।
सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने ।


























Discussion about this post