नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ आइतबार

0
SHARES
5
VIEWS
केपी ओली

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ आइतबार गर्ने तयारी गरेका छन् । संसद्‌को पहिलो दल कांग्रेसका ८८ र आफ्नो दल एमालेका ७८ गरी १ सय ६६ सांसदसहित शुक्रबार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरिसकेका छन् ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि राष्ट्रपतिले केपी ओलीलाई आइतबार नियुक्त गर्न सक्ने बताए । नयाँ प्रधानमन्त्रीको शपथ आइतबार नै हुने छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । त्यसक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि शितलनिवास पुगेका थिए ।
प्रधानमन्त्रीमा ओलीको दाबी पेस
संसद्‌का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस-एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।
संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित