गण्डकी, ९ साउन : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिनुभएको छ ।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान दुर्घटना भएको थियोे । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।“जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उहाँले भन्नुभयो, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।” गत वर्ष काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।
काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भयाे । उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सकाे जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।
पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । यस्तै, जहाजमा सवार अन्य १८ यात्रुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११:११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ । जहाजमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महताे, पुण्यरत्न शाही, अरेफ रेडा सवार थिए ।
रेडा यमनी नागरिक हुन् ।
Discussion about this post