५४ वर्षयताकै अधिक वर्षा : देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

0
SHARES
1
VIEWS

काठमाडौँ — अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट शनिबार राति ११ बजेसम्म प्राप्त विवरणअनुसार विपद्बाट काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५र५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ ।यस्तै धनकुटा र सोलुखुम्बुमा २र२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १र१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन् ।

गृह मन्त्रालयको अभिलेखमा भने बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ९९ मात्र छ । ‘फिल्डबाट तथ्यांक आउने क्रम जारी रहेकाले विवरण अद्यावधिक भइरहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने । उनका अनुसार विपद्मा फसेका २ हजार २३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।

धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जना र मकवानपुरको सिस्नेरीमा पुरिएर मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ । बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्र झ्याप्लेखोलामा पहिरोमा पुरिएको थियो ।

नदी, खोला, खोल्सा र खहरेमा आएको बाढीले तटीय क्षेत्र तथा नजिकैका बस्तीमा जनधन क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कम्तीमा १ सय ९५ घरमा क्षति पुगेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांक छ । मनसुनजन्य प्रकोपबाट बिहीबारयता ६४ स्थानमा सडकखण्ड अवरुद्ध बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी र पाँचथरको हेवाखोलाको बेलिब्रिज बगेका छन् । उदयपुर र खोटाङ जोड्ने खोक्सिङटार तथा रामेछाप र सिन्धुली जोड्ने खुर्कोट नजिकै मोटरेबल पुल पनि बगेका छन् । पहिरोका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग सबैमा यातायात सेवा अवरुद्ध छ ।

बाढीपहिरोबाट आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । केही प्रसारणलाइनमा समेत क्षति पुग्दा १३ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बन्द भएका छन् ।काठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा परेका छन् । वाग्मती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए । काठमाडौंको फर्पिङमा एउटा पक्की घर भत्किएर ५ जना र स्वयम्भू नजिकै इचंगुनारायणमा पनि घरभित्रै पुरिएर ३ जनाको ज्यान गएको छ ।

नक्खु खोलाले तटीय क्षेत्रमा टहरा बगाउँदा २ जना बेपत्ता छन् । टहराबाट बगेका अरू ३ जनाको भने उद्धार गरिएको छ । नख्खु खोलामा बाढी आएपछि शनिबार बिहानै छानामा निस्केर उनीहरूले उद्धारका लागि हारगुहार गरेका थिए तर बेलैमा उद्धार हुन सकेन । काभ्रेका चणिकलाल तामाङले ज्यानको परवाह नगरी उर्लिएको भेलमा पसेर ६ वर्षीया मेघना साह र २२ वर्षीय राज साहको उद्धार गरेका थिए । मेघनाका बुवा राजु साहले भने पौडिएर ज्यान जोगाएका छन् । उद्धार हुन नसक्दा बालिका सेतु साह र उनकै आफन्त नन्दु साह भेलमै हराएका छन् । ‘उनीहरूको अवस्था अज्ञात छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले भने । नख्खु खोलाले घेरेपछि टहरामा फसेकालाई उद्धार गर्न रबर बोटसहित गएका सशस्त्रका ११ जनालाई पनि भेलले बगाएको थियो । उनीहरू पौडिएर बाँचेका थिए ।

प्राकृतिक प्रकोपमा जुध्न पर्याप्त स्रोतरसाधन नहुँदा कतिपयलाई उद्धार गर्न नसकिएको खोज तथा उद्धारमा खटिएका एक सुरक्षा अधिकारीले बताए । ‘प्रकोप अकस्मात् निम्तिएको होइन, हरेक वर्ष यस्तो घटना दोहोरिरहन्छ । त्यससँग जुध्न चाहिने बन्दोबस्तीको जोहो हुन सकेको छैन,’ ती अधिकारीले भने, ‘नदीको भेलमा फसेकाले मलाई बचाऊ भन्दा पनि हामी निरीह हुनुपर्ने स्थिति आयो, योभन्दा विडम्बना अरू के हुन सक्छ र रु’

सुरक्षा निकायले विपद् व्यवस्थापनमा चाहिने लाइफ ज्याकेट, र्‍याफ्ट बोर्ड, डोरीलगायतका सरसामान पर्याप्त किनिदिनुपर्‍यो भन्दा सरकारले ‘एउटा कानले सुनेर अर्को कानले उडाउने गरेको’ टिप्पणी उनले गरे । प्रकोपको उच्च जोखिममा रहेका स्थानलाई ‘रेड जोन’ मा राखेर बस्ती स्थानान्तरण गर्न पनि सरकार असफल बनेको ती सुरक्षा अधिकारीले बताए ।गृह मन्त्रालयले भने प्रतिकूल मौसमका कारण हेलिकोप्टरमार्फत उद्धार कार्य कठिन बने पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय स्वयंसेवक, गैरसरकारी संघसंस्थासमेतको सहयोगमा उद्धार र खोजी कार्य भइरहेको जनाएको छ । ‘प्रतिकूल मौसमका कारण खोज उद्धार कार्यमा केही कठिनाइ भए पनि सुरक्षाकर्मीको सक्रियताले थुप्रै मानिसलाई सकुशल उद्धार गर्न सकिएको छ,’ गृहका प्रवक्ता तिवारीले भने । उनका अनुसार विपद्लाई ख्याल गर्दै सेनाका हेलिकोप्टरहरूलाई तयारी अवस्थामा राखिएको छ र आवश्यक परेको ठाउँमा तत्काल उडाउन निर्देशन दिइएको छ । गृहप्रवक्ता तिवारीले विपद्मा परी घाइते भएकाको उपचार निःशुल्क गर्ने प्रबन्ध मिलाइएको बताएका छन् ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा शनिबार केन्द्रीय सुरक्षा समितिको आपत्कालीन बैठक बसी खोज, उद्धार र राहत कार्य प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकारी संयन्त्रलाई निर्देशन दिइएको थियो । विपद्पछिको खोज तथा उद्धारमा सशस्त्र प्रहरीले मात्रै कम्तीमा ११ हजार जना परिचालन गराएको प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । नेपाल प्रहरीले भने कार्यालय सुरक्षा, अपराध अनुसन्धान र अरू विशेष परिस्थितिमा खटिएकाबाहेक सबै युनिटबाट खोज तथा उद्धारमा परिचालन गरेको प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले बताए ।

जल तथा मौसम विज्ञान विभागले असोज १० देखि १३ सम्म भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन र जोखिम औंल्याइएका स्थान हुँदै सडक यातायात सञ्चालन नगर्न अनुरोध गरेको थियो । तर त्यसलाई समेत बेवास्ता गरेर कतिपय स्थानमा सवारीसाधन चलाइएका थिए । उपत्यका प्रहरी कार्यालयले शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिने सबै सवारी सञ्चालनमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित