नुवाकोट । १२ माघ । नेपाली कांग्रेस नुवाकोटले प्रजातन्त्रका सेनानी जगतप्रकाशजंग शाहको १०२ औं स्मृति दिवस मनाएको छ । कांग्रेस नुवाकोटको संगठन विभागको आयोजनामा पार्टी कार्यालय विदुरमा शाहको स्मृतिमा अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा वक्ताहरुले प्रजातन्त्रका सेनानी शाहले प्रजातन्त्रको लागि गरेको संघर्षका बारेमा स्मरण गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति रमेशकुमार महतले पार्टीले प्रजातत्त्रका सेनानीको उपाधि दिए पनि राज्यले सहिद घोषणा नगरेकोमा चिन्ता व्यक्त गरे । राणाकालीन व्यवस्था हुँदै पञ्चायती व्यवस्थासँग लड्दै गर्दा शहादत भएका शाहलाई राज्यले सहिद घोषणा गर्नुपर्ने माग अगाडि सारे । उपसभापति राजु थापाले सहिदहरुको बलिदानीले प्राप्त गरेको लोकतन्त्रलाई संस्थागत गर्न दलीय संयन्त्रको अग्रणी भूमिका रहन जाने बताए । सचिव तथा संगठन विभागका प्रमुख श्रीराम श्रेष्ठले सहिद जगतप्रकाशको पारिवारिक पृष्ठभूमिलाई प्रस्तुत गरेका थिए । तत्कालीन राजा महेन्द्रको शासनकालमा राज्यबाट हत्या भएको, पृथ्वी नारायण शाहका जेठाछोरा रणबहादुर शाहका तीन श्रीमती मध्ये जगतप्रकाशका जिजुमुमा नै रणबहादुरको वैधानिक श्रीमती भएको र गिर्वाण युद्धविक्रम शाहलाई राजा बनाइएपछि हजुरबुबालाई राजा बनाइएन भन्दै नियम अनुसार महेन्द्रको स्थानमा जगतप्रकाशजंग शाह नै राजा हुनुपर्ने कुराको चर्चा सचिव श्रेष्ले गरेका थिए । कार्यक्रमा सचिव वैकुण्ठ मिश्र, हरि श्रेष्ठ, महिला नेतृ विन्दा अर्याल, गोविन्दलाल चित्रकार लगायतले शाहको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा कांग्रेस तथा भातृसंस्थाका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post