२० माघ, नुवाकोट । नुवाकोटको सवैभन्दा ठूलो क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको दशौं क्याम्पस सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः श्रीराम श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
शनिवार विदुर ४ बट्टारमा रहेको क्याम्पस सभाहलमा आयोजित सभा पश्चातको अधिवेशनमा अध्यक्ष पदमा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँलाई निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत सुकुमान डंगोलले जानकारी दिनुभयो । छलफलका क्रममा अन्य सदस्यले पनि सदस्यमा आकांक्षा देखाएका थिए । तर, मनोनयनका क्रममा श्रेष्ठको मात्र उमेदवारी परेको हो । सदस्यहरुमा भने सहमतीको प्रयास जारी रहेको बताईएको छ । सदस्यहरुमा अच्युतराज महन्त गिरी, राजेन्द्र श्रेष्ठ, सुरेन्द्र मुडवरी, ध्रुव ढकाल, सुरज श्रेष्ठ, मोहनबहादुर खड्का, प्रकाशचन्द्र ढुङ्गाना, भगवति खनाल, राजाराम अधिकारी र रामहरी घिमिरेको उमेदवारी परेको छ । ८ जना संचालक सदस्य चयन हुनुपर्नेमा १० जनाको उमेदवारी परेको हो ।
यसअघि पनि क्याम्पस सञ्चालक समितिको अध्यक्ष रहनुभएका श्रेष्ठको कार्यकालमा क्याम्पसको भौतिक संरचना तथा शैक्षिक विकासका थुप्रै कामहरु सम्पन्न भएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको जिल्ला सचिव समेत रहनुभएका श्रेष्ठ लेखक, स्तम्भकार, मिलनसार व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा शनिवार भएको उद्घाटन समारोहमा प्रमुख अतिथी बागमती प्रदेससभा सदस्य रमेशकुमार महतले नयाँ प्रविधि र सिप विकासमा केन्द्रित शिक्षा प्रदान गर्ने नयाँ कार्यक्रम ल्याउन सुझाब दिनुभयो । उहाँले यहाँको विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी काठमाड़ों सहित देशका अरु शहरमा जानुपर्ने बाध्यता हटाउन सक्ने गरेर सम्भावना भएका क्षेत्रमा शैक्षिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा संधीय सांसद सिता मिजारले जिल्लाको प्रमुख शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसलाई शिक्षाको गुणस्तर र निषयुक्त, दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउन सक्नुपर्ने बताउनुभयो । सो अवसरमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले शिक्षाको विकासको लागी नगरको तर्फबाट विगतको जस्तै आर्थिक सहितको सहयोग निरन्तर रहने प्रतिबध्दता जनाउनुभयो ।
Discussion about this post