नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको दशौं क्याम्पस सभा तथा दोस्रो अधिवेशबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । क्याम्पससभाले अध्यक्षमा पुनः श्रीराम श्रेष्ठलाई सर्वसम्मत चयन गर्दै नयाँ समिति चयन गरेको हो ।
सदस्यहरुमा अच्युतराज महन्त गिरी, राजेन्द्र श्रेष्ठ, सुरेन्द्र मुडवरी, ध्रुव ढकाल, मोहनबहादुर खड्का, प्रकाशचन्द्र ढुङ्गाना, भगवति खनाल र रामहरी घिमिरे चयन हुनुभएको हो । यस्तै, राजाराम अधिकारीको संयोजकत्वमा रामकृष्ण गजुरेल र गंगा नेपाली रहेको तीन सदस्यीय लेखा समिति समेत चयन भएको छ । यसअघि पनि क्याम्पस सञ्चालक समितिको अध्यक्ष रहनुभएका श्रेष्ठको कार्यकालमा क्याम्पसको भौतिक संरचना तथा शैक्षिक विकासका थुप्रै कामहरु सम्पन्न भएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको जिल्ला सचिव समेत रहनुभएका श्रेष्ठ लेखक, स्तम्भकार, मिलनसार व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विगतमा आफ्नो नेतृत्वमा शुरु भएका शैक्षिक तथा भौतिक विकासका कार्यलाई यो कार्यकालमा सम्पन्न गरी नुवाकोट क्याम्पसलाई नमुना क्याम्पसको रुपमा स्थापित गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख नारायणमान डंगोलले नयाँ समितिसँगको सहकार्यमा शैक्षिक विकासका लागि आफू क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । स्ववियु सभापति रविन दाहालले थप नयाँ शैक्षिक कार्यक्रमहरु ल्याई जिल्लाका विद्यार्थीलाई उच्च शिक्षाका लागि राजधानी जानुपर्ने अवस्था अन्त्य गर्न क्याम्पस सञ्चालक समिति र प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ ।
Discussion about this post