नुवाकोट । ७ चैत्र ।
माध्यमिक शिक्षा परीक्षा एसइई आजवाट शुरु भएको छ । नुवाकोटमा २१ वटा परीक्षा केन्द्रमा आजबाट परीक्षा शुरु भएको हो ।
यसवर्ष जिल्लाको एक सय ५६ विद्यालयबाट चार हजार ६ सय १३ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका छन्् ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको अनुसार म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका बाहेक अन्य नौँ वटा स्थानीय तहमा परीक्षा केन्द्र कायम गरिएको छ । जस मध्ये विदुर नगरपालिकामा ९, बेलकोटगढी नगरपालिकामा ३, ककनी गाउँपालिका र तादी गाउँपालिकामा समान २, पञ्चन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकामा एकएक परीक्षा केन्द्र कायम गरिएको छ । कायम गरिएको २१ मध्ये दुप्चेश्वर गाउँपालिकामा रहेको रुक्मणी माध्यमिक विद्यालय समुन्द्रटार परीक्षा केन्द्रबाट सबैभन्दा बढी परीक्षार्थीले परीक्षा दिनेछन् । त्यस परीक्षाकेन्द्रमा १२ वटा विद्यालयको तीन सय ४१ परीक्षार्थी सहभागी हुनेछन् । त्यस्तै बेलकोटगढी नगरपालिकामा रहेको पञ्चकन्या माध्यमिक विद्यालय बेलकोट परीक्षा केन्द्रमा सबैभन्दा कम परीक्षार्थी रहेका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार यस वर्षको एसइइ परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म संचालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो ।
परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन् । विगतका वर्षमा पनि यस्तो देखिएको थियो । एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि केन्द्रबाट गरिने सम्पूर्ण तयारी पूरा भइसकेको छ । उहाँका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पु¥याइसकिएको छ । परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ ।
ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन् । जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।
Discussion about this post