चिप्लिएर दाइ डुबे, जोगाउन खोज्दा भाइ पनि बिलाए गोसाइँकुण्डमै

0
SHARES
264
VIEWS

रसुवाको गोसाइँकुण्डमा आइतबार बेपत्ता भएका मोरङका दुई युवा सोमबार बिहान मृत अवस्थामा फेला परे।

घुमिरहन र ट्रेकिङमा गइरहन रूचाउने मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर ३ का २९ वर्षीय सुजन ढकाल मामा फुपुका छोरा थिए।

मनोजका मामाका छोरा थिए सुजन। मनोज काठमाडौंमै बसेर कम्प्युटरसम्बन्धि काम गर्थे। सुजन विराटनगरस्थित एनआइसी एसिया लघुवित्तमा कार्यरत थिए।

घुम्न रूचि राख्ने यी दुवैले सल्लाह गरेर यसपटक गोसाइँकुण्ड जाने निधो गरेका थिए।

‘फोनमा सल्लाह गरेर त्यता जाने भएपछि सुजन शुक्रबार काठमाडौं गएको थियो,’ सोही परिवारका सदस्यसमेत रहेका मोरङका पत्रकार विवेक मिश्रले भने, ‘शनिबार रसुवा पुगेका उनीहरूको साथमा हाम्रै परिवारकी एक जना बहिनी पनि थिइन्। त्यहाँ दुर्घटना भएको जानकारी उनैले दिएकी हुन्।’

मृतक मनोज मिश्रका सानिमाका छोरा हुन् भने सुजन मामाका। मिश्रले दिएको जानकारी अनुसार आइतबार दिउँसो ३ देखि साढे ३ बजेको समयमा यो घटना भएको थियो।

‘सुजन चिप्लिएर लडेर कुण्डमा डुब्न पुगेछ। दाइ डुबेको देखेपछि मनोज पनि हतारहतार हामफालेर भित्रै छिरेर तान्न खोजेछ,’ मिश्रले भने, ‘तर, पौडीमा अभ्यस्त नभएका दुवै जना बाहिर निस्कनै सकेनन्। समयमै उद्धार हुन पनि सकेन।’

उनीहरू दुवै जना अविवाहित थिए।

मनोजको परिवारमा क्यान्सरपीडित आमा, बुबा र बहिनी छन् भने सुजनको परिवारमा आमा र दाजुभाउजू छन्।

पौडिन नजान्ने उनीहरूलाई अत्यधिक चिसो पानीले पनि कक्रक्क पारेको हुनसक्ने प्रहरीको अनुमान छ।

‘घटनापछि हामी रसुवा प्रहरीसँग लगातार सम्पर्कमा थियौं,’ मिश्रले भने, ‘तर अत्यधिक चिसो पानी र खराब मौसमले समयमा उद्दार हुनै सकेन।’

सोमबार बिहान शव फेला पर्दा सुजन र मनोजको शव एकैठाउँ भेटिएको थियो। उद्दारकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा दुई जनाले एकअर्काको हात समातेको देखिन्छ। उनीहरूको टोलीमा १३ जना थिए।

दुई जनाको डुबेर मृत्यु भएपछि टोलीका अरू सदस्य काठमाडौं फर्केका छन्।

परिवारले दिएको जानकारी अनुसार उनीहरूको शव मोरङ ल्याउन खोजिएको तर खराब मौसका कारण हेलिकप्टर उडान हुन सकेको छैन।

‘त्यहाँको प्रशासनले हेलिकप्टर चल्न सक्ने अवस्था छैन, मौसम खराब छ भनिरहेको छ,’ मिश्रले भने, ‘अहिलेसम्म रसुवामै रहेको शव सकेसम्म छिटो ल्याउन पाए हुन्थ्यो भन्नेमा छौं।’

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले मौसमको खराबीले हेलिकप्टर उड्न नसकेर शव पठाउन नपाएको जानकारी दिए।

‘मौसमको खराबीले आज हेलिकप्टर उड्न सकेन,’ उनले भने, ‘सुरक्षा निकायको रोहबरमा दुवै जनाको शव यहीँ छ। भोलि पठाउने प्रयासमा छौं।’

सेतोपाटिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित