काठमाडौँ — सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावी मैदानमा उत्रने भएको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेन्डा यही छ ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पनि थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज उठेको थियो । तर, देउवा तयार नहुँदा निर्णय हुन सकेको थिएन । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिन लागेको प्रवक्ता देवराज चालिसेले बताए ।
थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा ‘अबके बाद, गगन सरकार’ भन्दै प्रचार अभियान सुरु भइसकेको छ । टिकट वितरणमा ढिलाइले वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा शुक्रबार केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्र जाँदै छन् ।
सक्रिय राजनीतिमा तीन दशक लामो संघर्षपछि पार्टी नेतृत्वमा पुगेका थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको हो । थापाको राजनीतिमा पहिचान त्रिचन्द्र क्याम्पसमा नेविसंघ नेताबाट सुरु भएको हो, जति बेला उनी आईएस्सी पढ्दै थिए ।
२०५१ मा स्ववियु सदस्य निर्वाचित भएका उनी दुई वर्षपछि सभापति भए । २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बने । उनी महामन्त्री भएकै बेला भएको विद्यार्थी आन्दोलनका क्रममा राजद्रोहको आरोपमा पटक–पटक पक्राउ परेका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि त्यसविरुद्ध १ पुस २०६० मा भएको विद्यार्थी आन्दोलनमा नाराबाजी गर्दा सूर्यबहादुर थापा नेतृत्वको सरकारले नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री थापा र अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको आरोपमा पक्राउ गर्यो । १० दिनपछि उनीहरू हिरासतमुक्त भए ।
नागरिक समाजले १० साउन २०६१ मा आयोजना गरेको कार्यक्रममा गगनले राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा भाषण गरे । यो बेलासम्म कांग्रेस गणतन्त्रको पक्षमा थिएन । पार्टीको निर्णयभन्दा फरक गणतन्त्रको पक्षमा बोलेको दुई दिनपछि राजद्रोह आरोपमा उनी पक्राउ परे र तीन सातापछि छुटे । त्यति बेला नेविसंघ दसौं महाधिवेशन संघारमा थियो ।
हिरासतबाट छुटेर थापा सिधै महाधिवेशनस्थल पोखरा पुगेका थिए । उनी नेविसंघ अध्यक्ष हुने माहोल देखिएपछि महाधिवेशन नै बिथोलियो । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई ‘दरबारको एजेन्ट’ भन्ने आरोपसमेत लगाए । त्यतिबेला कोइरालाले भनेका थिए, ‘गणतन्त्र चाहियो भन्ने हो भने दरबारले दमन गर्छ र लोकतन्त्र पनि हरण हुन्छ, त्यसैले गणतन्त्रको आवाज उठाउनेहरू दरबारिया हुन् ।’
गगनले पनि कोइरालालाई आरोप पुष्टि गर्न चुनौती दिए । पार्टी नेतृत्व र महाधिवेशन प्रतिनिधिको मत एकै ठाउँ नहुने निश्चित भएपछि अधिवेशन भाँडिएको थियो । बरु केही महिनापछि चितवनमा भएको महाधिवेशनमा गगनको समेत समर्थनमा नेविसंघ अध्यक्षमा प्रदीप पौडेल निर्वाचित भएका थिए ।
थापाले २०५९ देखि नै गणतन्त्रको मुद्दा बोकेका थिए । यसका लागि उनलाई पार्टी नेतृत्वले तर्साएको थियो । तर २०६२ को भदौमा सम्पन्न महाधिवेशनबाट कांग्रेसले आफ्नो विधानबाट ‘संवैधानिक राजतन्त्र’ मान्ने प्रतिबद्धता फिर्ता गर्यो । त्यसपछि भएको २०६२र६३ को जनआन्दोलनमा उनी विद्यार्थी नेताका तर्फबाट अग्रपंक्तिमा थिए । जनआन्दोलनताका शान्तिवाटिकामा उनले ढुंगा हान्दै गरेको फोटोले निकै चर्चा पायो ।
जनआन्दोलनको सफलतापछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट थापा संसद् छिरे । उनी त्यतिबेला नेता नरहरि आचार्यको गणतान्त्रिक वैचारिक समूहमा आबद्ध थिए । पार्टीमा आचार्य तत्कालीन सभापति कोइरालाका प्रतिद्वन्द्वी थिए । सिंगो पार्टी परम्परागत संसदीय प्रणालीको पक्षमा अडिग रहँदा आचार्य, थापा, सुप्रभा घिमिरेजस्ता केही नेताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय स्वरूपको पक्षमा वकालत गरेका थिए । उनीहरू समावेशिता, संघीयता र नागरिक अधिकारका सवालमा खुलेर अग्रगामी धारमा थिए । त्यो लाइनमा सम्पूर्ण कांग्रेस समाहित भयो । गणतन्त्रको मुद्दाले थापालाई राष्ट्रिय राजनीतिमा स्थापित गरायो ।
असोज २०६७ मा भएको १२ औं महाधिवेशनबाट थापा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७२ फागुनमा भएको १३ औं महाधिवेशनमा नरहरि आचार्य संस्थापनपक्षमा सामेल भइसकेका थिए । सुशील कोइरालाको प्रतिस्पर्धामा उत्रिएका नेता कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले महामन्त्रीमा प्रतिस्पर्धा गरे । त्यति बेला ससुरा अर्जुननरसिंह केसी देउवातर्फबाट प्रतिस्पर्धी थिए । ससुरा–ज्वाइँ दुवै पराजित हुँदा बीपी–पुत्र शशांक कोइराला महामन्त्रीमा विजयी भए । यसपछि थापाको सिटौलासँगको सम्बन्ध कमजोर हुँदै गयो र टुट्यो । थापा मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनमा नेता शेखर कोइरालासँग उभिए । कोइराला सभापतिमा पराजित भए पनि गगन महामन्त्रीमा निर्वाचित भए ।
गत भदौमा भएको जेन–जी विद्रोहपछि राजनीतिमा नयाँ पुस्ताको माग भइरहेका बेला २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति बनाएको हो । थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको एक सातापछि पार्टी मुख्यालय सानेपामा पहिलो पटक शुक्रबार बैठक बस्न लागेको हो ।


























Discussion about this post