नुवाकोट जिल्लामा पहिलोपटक साबुन उद्योग सञ्चालनमा आएको छ । कृपाशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विदुर नगरपालिका वडा नं ६ स्थित मान्द्रेढुङ्गामा उद्योग स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
उद्योगको शनिबार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी संघका उपाध्यक्ष डिबि बस्नेतले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सहकारीले उद्योग स्थापना गर्न थुप्रै कानुनी झमेलाहरु झेल्नुपरिरहेको बताउँदै नीतिगत सुधारका लागि आफूहरुले पहल गरिरहेको वताउनुभयो ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जिल्लामा उद्योग स्थापना हुनु सुखद पक्ष रहेको वताउँदै उद्योगबाट उत्पादित साबुनको प्रबद्र्धनका लागि संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । विदुर नगरपालिका–६ का वडाध्यक्ष रामकृष्ण चालिसेले सरकारको तिन खम्बे अर्थनीतिलाई साकार बनाउन सहकारी, नीजि र सरकारी क्षेत्रबाट उद्योग कलकारखाना स्थापना र सञ्चालन गरी रोजगारी सिर्जना गर्नु आवस्यक रहेको वताउनुभयो । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटाले स्थानीय रुपमा सञ्चालनमा आएका उद्योगको विकासका लागि स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण रहने वताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रवहादुर पण्डितले आवस्यक गुणस्तर कायम गरी उत्पादन गर्न आग्रह गर्नुभयो । सहकारीका सचिव नारायणप्रसाद नेपालले यो उद्योग जिल्लामा नै सहकारीले स्थापना गरेको दोश्रो उद्योग रहेको वताउनुभयो । सहकारीका अध्यक्ष हस्तबहादुर राईले साबुन बोसोरहित र शुद्ध साकाहारी हुनुको साथै ग्रेड ‘ए’ मान्यता प्राप्त रहेको जानकारी दिनुभयो । उद्योगको दैनिक उत्पादन क्षमता चार टन रहेकोमा सुरूवातमा साढे एक टन मात्र उत्पादन गरिने बताए । उत्पादनलाई आवश्यक कच्चापदार्थ भारत लगायउत अन्य देशबाट ल्याउनुपर्ने छ ।
उद्योगबाट १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अहिले स्थानीय बजारको साथै कृषि र दुग्ध सहकारीका सदस्यहरूलाई लक्षित गरी बिक्रि गरिरहेको सहकारीका सचिव नेपालले बताउनुभयो । करिव ६५ लाखको लगानीमा उद्योग स्थापना भएको हो ।
Discussion about this post