२६ माघ, नुवाकोट ।
नुवाकोट महोत्सव आजबाट शुरु हुँदैछ । सदरमुकाम विदुरमा हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गरिनेछ । महोत्सव माघ २६ गतेदेखि फागुन ७ गतेसम्म हुने आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा दुईसय ५० भन्दा बढी स्टल रहने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । महोत्सवमा १ करोड भन्दा बढिको ब्यापारिक कारोवार हुने जनाईएको छ । यसपटक महोत्सवले स्थानीय उत्पादन तथा कृषि प्रर्दशनी लाई प्राथमिकता दिएको छ । यस बर्ष कृषिलाई पहिलो प्राथमिकतामा राख्न १२ वटै स्थानीय तह, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान केन्द्र, जिल्ला कृषि सहकारी संघ लगायत अन्य निकायहरुसँग समन्वय गरिएको अध्यक्ष श्रेष्ठले वताए ।
‘यस वर्ष हामीले स्थानीय उत्पादन र कृषि प्रर्दशनीलाई ५० वटा निःशुल्क स्टल बनाएका छौं, साथै यस वर्ष उत्कृष्ट पाँच कृषि प्रर्दशनीलाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरेका छौं । महिला उद्यमी तथा कृषकहरुलाई खाजा र आतेजाते खर्चको व्यवस्था पनि गरेका छौं’ अध्यक्ष श्रेष्ठले भने–‘भेटेरिनरी अस्पतालको सहकार्यमा हामीले कृषिजन्य वस्तुको प्रर्वद्धनको लागि ३ दिनसम्म सम्पूर्ण महोत्सव आगन्तुकहरुको लागि उसिनेको अण्डा र तातो दुध निःशुल्क वितरण गर्न लागेका छौं ।’ त्यस्तै संघले यस वर्ष कृषि जनचेतनाको लागि
बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान, कृषि ज्ञानकेन्द्र, भेटरिनरी अस्पतालको विज्ञहरुबाट दैनिक २ घण्टा ईच्छुक कृषकहरुलाई बृतचित्रमार्फत् तालिम दिईने ब्यवस्था गरेका छौं । जिल्लाका विभिन्न स्थानीय तहहरुबाट आआफ्नो पालिकाको मौलिकता झल्किने स्थानीय उत्पादन तथा कृषि सामाग्रीहरु प्रर्दशनी गरिनेछ । विस्तारै प्रविधिमैत्री हुदै गईरहेको कृषि क्षेत्रमा प्रयोग हुने यन्त्रहरुको पनी प्रर्दशनी गरिनेछ ।
यसपटक संघले महोत्सवको प्रचार–प्रसारलाई प्राथमिकता साथ बढाएको महासचिव उपेन्द्र बढाथोकीले जानकारी दिए । महोत्सवको तुल–ब्यानर जिल्लाभरि राखिएको छ, बजार क्षेत्रमा स्वागत गेट बनाइसकेको छ– बुढाथोकीले भने – माघ २० देखि जिल्लाभर महोत्सवको जानकारी दिने गरी माइकिङ गरिएको छ । महोत्सवस्थल विदुरमा महोत्सवका लागि आवस्यक पुर्वाधार निर्माण सम्पन्न भइसकेको छ । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ । जिल्लाको आर्थिक कारोबारलाई चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
महोत्सवमा विभिन्न खेल, नृत्य, लोकदोहोरी, विज्ञानप्रविधि प्रदर्शन लगायतका प्रतियोगिता हुने भएको छ । जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण गराउने महोत्सवको उद्देश्य रहेको छ ।
विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने लक्ष्य संघले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने महोत्सवको लक्ष्य छ ।
घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई व्यावसायिक र आधुनिकीकरणलाई उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने संघले अपेक्षा राखेको छ ।
आधुनिक एवम् नयाँ प्रविधि, उपकरण एवम् मेसिनबारे जानकारी गराउने, स्थानीय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीको अवसरको सिर्जना गर्ने महोत्सवको लक्ष्य छ । महोत्सवको लागि ३० उपसमिति गठन गरिएको छ । महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।
विदुर नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समिति प्रवर्धक रहेको महोत्सवमा २ सय ५० स्टलहरु रहने जनाइएको छ ।
Discussion about this post