नुवाकोट,६ बैशाख ।
नुवाकोटको विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई ५० हजार थान क्याल्सियम र तीनसय थान ‘न्यानो झोला’ उपलब्ध गराएको छ । अस्पतालमा परीक्षण गराउन पुग्ने गर्भवतीलाई क्याल्सियम तथा सुत्केरी र नवजात शिशुलाई लगाउने कपडासहितको सरसफाइका सामग्री भएको न्यानो झोला बुधबार नगरप्रमुख राजन श्रेष्ठले अस्पताललाई हस्तान्तरण गर्नुभयो ।
प्रादेशिक मन्त्रालयअन्तर्गत रहेको त्रिशूली अस्पतालले जाँच गर्ने गर्भवतीलाई उपलब्ध गराउन क्याल्सियम र सुत्केरीलाई प्रदान गर्न कपडासहितको सरसफाइका सामग्री अभाव भएको भनेर गरेको आग्रहअनुसार पहिलो चरणमा मागअनुसारको सामग्री उपलब्ध गराएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालको मागअनुसार अत्यावश्यक थप सहयोगका सामग्री नगरपालिकाको तर्फबाट उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नगरपालिकाले अस्पताललाई उपलब्ध गराएको उक्त सामग्री रु तीन लाख ६३ हजार लागतको रहेको छ । सामग्री हस्तान्तरणका क्रममा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजु पण्डितले प्रदेशबाट प्राप्त हुने औषधि, जनशक्ति र उपकरण कटौती हुँदा सेवा प्रवाहमा कठिनाइ भएको गुनासो गर्नुभयो ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जाँच गराउन आउने गर्भवतीलाई क्याल्सियम खान पुर्जी दिए पनि फार्मेसीबाट खरिद गरेर खान बेवास्ता गरेकाले अस्पतालले निःशुल्क उपलब्ध गराउँदा उपभोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार कपडा र सरसफाइ संलग्न रहेको न्यानो झोलाले अस्पतालमा सुत्केरी हुने आमा र नवजात शिशुको स्वास्थ्य सुनिश्चिततामा उल्लेख्य सुधार पुग्नेछ ।
नुवाकोट, रसुवा र धादिङसहितका जिल्लाका बिरामीलाई सेवा पु¥याउँदै आएको त्रिशूली अस्पताल बागमती प्रदेश सरकारमातहत सञ्चालित छ । यहाँ अत्यावश्यक सामग्री नुवाकोट र रसुवाका स्थानीय तहमार्फत सहयोग प्राप्त भएसँगै सेवा विस्तार र गुणस्तर बनाउन मद्दत पुगेको अस्पतालले जनाएको छ । रासस
Discussion about this post