काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् ।
प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र मंगलबार बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताए । ‘फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक रु ५० दिँदै आएकामा नयाँ आवदेखि घटाएकाले विरोधमा अवरोध गर्नुपरेको हो’, पौडेलले भने, ‘फोहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रको दूरी र वार्षिक मुआब्जा वृद्धिको माग भइरहेको समयमा त्यसलाई निस्तेज बनाउन महानगरपालिकाले गरेको निर्णय अमान्य छ ।’
एक साताअघि भएको सहमतिको कार्यान्वयन नभएको, मुआब्जाको सीमा र रकम शुल्क घटाएको विरोधको माग सम्बोधन नभएसम्म फोहोर फाल्न नपाउने भन्दै फोहोर बोकेका गाडी नल्याउन स्थानीयवासीले सचेत गराएका छन् ।
काठमाडौँ महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ । स्थानीयवासीले उठाएका वैज्ञानिक रुपमा फोहोर विसर्जन, लिचडको प्रशोधन, फोहोर फ्याँक्ने आउने मूल सडकको स्तरोन्नति र गाउँको शाखा सडक कालोपत्र हुनुपर्ने माग महानगरपालिकाले एक साताभित्र पूरा गर्न यही भदौ १३ गते जनाएको प्रतिबद्धता पूरा नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।
फोहोर फ्याँक्न सिसडोलबाट एक हजार ९०० मिटरको दूरीमा पर्ने वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार निर्माण र प्रभावित बासिन्दाका लागि पन्ध्र श्यया क्षमताको अस्पतालको निर्माण सुरु गर्नुपर्ने माग पनि प्रभावित बासिन्दाले उठाएका छन् । काठमाडौंमा दैनिक उत्पादन हुने करिब एक हजार ५०० टन फोहोरको विसर्जन सिसडोलमा गरिँदै आएको छ ।
Discussion about this post