नुवाकोट । वर्षातको समयमा घुम्न रुचाउनेहरुको गन्तब्य बन्दै गएको छ–नुवाकोटको लौके झरना । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ र ककनी ५ को सिमानामा रहेको लौके झरनामा विदाका दिनहरुमा आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको हो ।
छहरे–टोखा छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि राजधानी काठमाडौं सहित जिल्लाकै स्थानीयहरु पनि झरना हेर्न जाने क्रम बढेको हो । केहि वर्षअघि सम्म गुमनाम रहेको यस झरना सडक स्तरोन्नतीसँगै विदाको समय सदुपयोग गर्ने उत्कृष्ट गन्तब्य बन्न पुगेको हो । दैनिक ४÷५ सय जना र बिदाको दिनमा झण्डै तिन हजार आन्तरिक पर्यटकले झरनाको अवलोकन गर्न थालेको स्थानीय गोपाल सिलवालले जानकारी दिनुभयो । काठमाडौंबाट माथिल्लो ढोडिनीसमको सडकमार्गको दूरी २९ किलोमिटर रहेको सिलवालले बताउनुभयो । टोखा छहरे सडकको घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ । अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ । ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको छ शिवपुरी ८ का वडाध्यक्ष केशव रिजालले जानकारी दिनुभयो । वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिव १ दशकअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ संचालन गरिएपछि प्रचारप्रसार शुरु भएको हो । हरियाली र झरना हेर्न आन्तरिक र विदेशी पर्यटक लालायित हुने गरेका छन् । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको संख्या ठूलो छ । प्रकृतिसँग समय बिताउँदा फ्रेस महसुस हुने भएकाले घुम्न रुचाउनेहरू झरना हेर्नका लागि लालायित हुने गरेका छन् । । युवायुवती फोटो खिच्ने, टिकटक बनाएर रमाउने गर्छन् । टिकटक र फेसबुकका रिलमा आउने छोटा भिडियोमा यहाँको प्राकृतिक सुन्दरता झनै मनमोहक देखिने गरेको छ ।
कसरी जाने ?
राजधानीबाट झरना करिव ३० किलोमिटरको दुरीमा रहेको छ । यस्तै, नुवाकोटको विदुरबाट पनि लगभग दुरी उस्तै छ । छहरे–टोखा सडकखण्ड हुँदै झरनामा पुग्न सकिन्छ । उता, पासाङल्हामु मार्गको ककनी हुँदै पनि झरना पुग्न सकिन्छ । हाल पासाङल्हामु मार्ग स्तरोन्नती हुँदै गरेकोले त्यताबाट आवतजावत गर्न भने सहज छैन । मोटरसाईकलमा आउन भने खासै समस्या छैन–ककनी ५ का वडाध्यक्ष बुद्धराज लामाले भन्नुभयो । ककनीतर्फबाट झरनामा पुग्न पनि थप आवस्यक पुर्वाधार निर्माणमा पालिका र वडाले तयारी शुरु गरिसकेको लामाले वताउनुभयो । टोखा–छहरे हुँदै आउनेहरु दिनभर झरनामा रमाएर साँझ फर्कन सक्छन् । रात्री बस्न चाहनेहरुका लागि झरना नजिकै त बसोबासको ब्यवस्था छैन, तर सुर्यचौर, गुरुङगाउँ लगायत स्थानमा बस्नका लागि लजहरु पनि सञ्चालनमा छन् ।
ख्याल गर्नुपर्ने कुराहरु
झरनाको छेउमा जाँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ । धेरै उत्साहित भएर मानिसहरू झरनाको नजिकै पुग्छन् र चिप्लिन्छन् । तसर्थ, झरनालाई केही दूरीमा रहेर नियाल्नु राम्रो हुन्छ । झरना देख्दैमा नुहाउन हतारो गर्नुहुँदैन । राम्ररी जानकारी लिएर सुरक्षित ठाउँ पहिचान गरेपछि मात्रै नुहाउन सकिन्छ । स्थानीय सरकारले वाल, रेलिङ आदि लगाउने, झरनामा निश्चित भ्यु पोइन्ट तय गर्ने, कुन ठाउँमा नुहाउन मिल्छ र कुन ठाउँमा मिल्दैन भनेर पर्यटकले बुझ्ने गरी बोर्ड राखिदिने गर्नुपर्छ । झरनाको धेरै नजिक जानुहुँदैन । त्यहाँ ढुंगा चिप्लो हुन्छ । जसकारण चिप्लिएर दुर्घटना हुन सक्छ । मानिसहरू खसेर खोलामा पनि पुग्न सक्छन् । एक्लै झरना हेर्न जानु राम्रो हुँदैन । समूहमा जाँदा केही समस्या परे पनि साथीभाइले सहयोग गर्न सक्छन् । खोलानजिकै भएका झरनामा जाँदा लाइफ ज्याकेट पनि बोकेर जानु राम्रो हुन्छ । केही कारणले खोलामा फसियो भने पनि बाँच्न सहज हुन्छ ।
Discussion about this post