२० साउन, २०८१ नुवाकोट । दिवंगत नेता पोष्ट बहादुर बोगटीको सम्झनामा पोष्ट बहादुर बोगटी स्मृती प्रतिष्ठान जिल्ला शाखा नुवाकोट गठन गरिएको छ । आईतवार विदुर ५ मा रहेको पोष्ट बहादुर बोगटी स्मृती पार्कमा भएको एक भेलाले राममाया बोगटीको अध्यक्षतामा शाखा गठन गरेको हो । राममाया दिवंगत नेता पोष्ट बहादुर बोगटीको धर्मपत्नी हुनुहुन्छ । प्रतिष्ठानको उपाध्यक्षमा मणिनाथ लामिछाने, सचिवमा बद्री प्रसाद प्याकुरेल, कोषाध्यक्षमा मोतिराम न्यौपाने रहनुभएको छ । यस्तै, सदस्यहरुमा रेखा भण्डारी,नारायण नेपाल,सम्झना गुरुङ र राममणी घिमिरे रहनुभएको छ । जिल्लाको स्वास्थ्य, शिक्षा लगायत समाजसेवाको क्षेत्रमा विभिन्न कार्य गर्ने उद्येश्य सहित प्रतिष्ठान शाखा गठन गरिएको अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।
पोष्ट बहादुर बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष हुनुहुन्थ्यो । सादा जीवन शैली र मिलनसार ब्यवहारका कारण उहाँ माओवादीभित्र र बाहिर लोकप्रिय रहनुभएको थियो । नुवाकोटमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट–३ बाट निर्वाचित बोगटी ऊर्जा, श्रम, शिक्षा र संस्कृति त्यस्तै पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभएको थियो । बोगटीले आफ्नो एक मात्र छोरा रवि बोगटी लाई तत्कालीन माओवादी जनयुद्धमा गुमाउनुभएको थियो । उहाँका श्रीमती र छोरीहरु राजनीतिमा सक्रिय हुनुहुन्छ ।
Discussion about this post