नुवाकोट । ९ माघ ।
विदुर नगरपालिकामा खानेपानी र ढल आयोजनाका लागि बहुवर्षिय रुपमा काम हुने गरी १५ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ । विदुरका नगरप्रमुख राजन श्रेष्ठको पहलमा विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाको लागी १० करोड र ड्वाचे खानेपानिको लागी पाच करोडको बजेट सुनिश्चित भएको हो ।
मंगलवार खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादवले नगरप्रमुख श्रेष्ठलाई मन्त्रालयमा श्रोत सुनिश्चत भएको पत्र प्रदान गर्नुभयो । मन्त्री यादवले एक महिना अघि आफूले नुवाकोटको विदुर नगरक्षेत्रको खानेपानी र ढलको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको थियो । स्थलगत अनुगमनका क्रममा जनप्रतिनिधी, स्थानीयवासीन्दा, सरोकारवाला लगायतले नगरपालिकामा खानेपानी र ढल निकासका लागि थप रकम विनियोजनका लागि आग्रह गरेका थिए । ड्वाचे खानेपानि उपभोक्ता समितिको लागी खानेपानी मन्त्रालय मार्फत अर्थमन्त्रालयबाट थप पाच करोड बजेटको श्रोत सुनिश्चित भएको हो । खानेपानी मन्त्रालयको मागको आधारमा अर्थमन्त्रालयले यो वर्ष नै १० लाख र अर्को वर्ष ४ करोड ९० लाख रुपैयाको बजेट सुनिश्चित भएको जनाएको हो । यस सम्बन्धमा उपप्रधान एंव अर्थमन्त्री विष्णु पोडेलले पुस २६ गते निर्णय गर्नुभएको हो ।
Discussion about this post