नुवाकोट । ७ माघ ।
नुवाकोटको विदुरमा नवौं नुवाकोट महोत्सव सुरु भएको छ । माघ १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको हो ।
महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक गतिविधी सुस्त भईरहेको अहिलेको समयमा महोत्सवले जिल्लाको आर्थिक गतिविधीलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा स्थानीय, घरेलु तथा हस्तकलाका सामग्रीसहित राष्ट्रियस्तर र बहुराष्ट्रिय कम्पनीको उत्पादनका दुई सय ५० स्टल रहेको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवले स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शन र प्रवद्र्धन गर्ने लक्ष्य राखेको श्रेष्ठको भनाई छ । त्यससँगै उपभोक्ताको आवस्यकता अनुसारका अन्य वस्तुपनि महोत्सवमा प्रदर्शन र विक्रीमा राखिएका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र सांस्कृतिक झाँकीहरु रहने संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रतीले जानकारी दिनुभयो ।
महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि ढकालले संघका पूर्वअध्यक्ष धननारायण चित्रकारद्वारा लिखित ’बट्टारको बखानः नुवाकोटको नालीबेली’ शीर्षक कृति लोकार्पण गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठ, आधा दर्जन केन्द्रीय कार्यकारिणीका सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, नुउवा सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्षद्वय शरणउत्सुक सापकोटा र ताराबहादुर कार्कीलगायतको उपस्थिती रहेको थियो ।

























Discussion about this post