नुवाकोट । विभिन्न आपराधिक क्रियाकलापमा दोषी ठहर भएका ब्यक्तीलाई पक्राउ र सजायमा नुवाकोट प्रहरीले प्रगती हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तुलनामा गत आर्थिक वर्ष ०८०÷८१ मा ३९.१२% ले त्यस्ता ब्यक्ती पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको गत आवको प्रगती विवरण सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सुशासन स्थापनाको लागि प्रहरी सक्रिय रहेको वताउनुभयो । प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोइरालाका अनुसार फरार अपराधीको सङ्ख्या नौ सय १३ जना रहेकोमा आर्थिक वर्ष २०८०÷८१ मा एक सय २७ जनालाई पक्राउ गरिएको र १३ जना आफैँ न्यायालयमा हाजिर भएका छन् । जिल्लामा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनका लागि खोजतलास भइरहेको छ ।
जिल्लाको विभिन्न न्यायिक निकायको अन्तिम फैसलाबाट दोषी ठहर भएर फैसला कार्यान्वयन गर्नुपर्ने अपराधीको सङ्ख्या सात सय ७३ जना रहेका छन् । ’पछिल्लो एक वर्षमा एक सय २७ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि सम्बन्धित न्यायालयमा बुझाएसँगै उनीहरूबाट ६८ वर्ष तीन महिना १३ दिन कैद कट्टाको प्रक्रियामा गएको छ ,’ प्रहरी प्रमुख कोइरालाले भने, ’पक्राउ परेकामध्ये न्यायालयबाट दोषी ठहरिएर जरिवाना तोकिएकाबाट २४ लाख १९ हजारभन्दा बढी भुक्तान भएको छ ।’ नुवाकोटका न्यायालयबाट दोषी ठहर भएका तथा अदालतमा अभियोग लागेका प्रतिवादीलाई पछिल्लो समयमा खोजतलास तथा पक्राउ गर्ने क्रम तीव्र बनाएसँगै फैसला कार्यान्वयनमा निकै सुधार आएको प्रहरीको दाबी छ ।
लामो समयदेखि फरार रहेकालाई सम्बन्धित न्यायालयमा उपस्थित गराउन तथा आफैँ न्यायालयमा उपस्थित हुन प्रहरीले चलाएको अभियानअन्तर्गत अघिल्ला वर्षको तुलनामा हालै सम्पन्न आर्थिक वर्षमा निकै सुधार आएको छ । फरार व्यक्ति पक्राउमा १० प्रतिशत र जरिवाना असुलीमा ४३ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्क छ ।
Discussion about this post